हत्या गरी फरार अभियुक्त ११ बर्ष पछि नवलपरासीबाट पक्राउ
शोभा जिसी
नवलपरासी, ६ भाद्र ।
फलामको रड प्रहार गरी हत्या अभियोगमा फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले सुनवलबाट पक्राउ गरेको छ ।
सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षीय गोविन्द प्रसाद कुमाललाई प्रहरीले पक्राउ गरेका हो ।
११ बर्ष अगाडि २०६५ साल असोज २३ गते नवलपरासी जिल्लाको साविक रामनगर गाविस ५ निवासी लालबहादुर सुनार र कमल सुनार दुई जनालाई फलामे रडले आक्रमण गरी घाइते बनाएका थिए ।

घाइते मध्ये कमल सुनारको उपचारको क्रममा ९ दिन पछि निधन भएको थियो । छिमेकीलाई रड प्रहार गरी हत्या गरेर फरार रहेका कुमाललाई प्रहरीले उनकै घर नजिकैबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका कुमाललाई जिल्ला अदातलको आदेश अनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।