शारीरिक र मानसिक तन्दुरुस्तीका लागि खेलकुद अपरिहार्य : मन्त्री गुरुङ
पोखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले शारीरिक र मानिसक तन्दुरुस्तीका लागि खेलकुद अपरिहार्य भएको बताए।
पोखरा महानगरपालिका–४ गणेशटोलस्थित स्पोर्टस् क्यासलको आज उद्घाटन गर्दै उनले खेलकुद गतिविधिले पर्यटन विकासमा टेवा पुग्ने बताए। खेलकुदको विकाससँगै मुलुकको समृद्धिका लागि सरकार एकल प्रयास पर्याप्त नहुने भन्दै उनले खेलकूदको विकासका लागि निजी क्षेत्रको लगानी महत्वपूर्ण हुने धारणा राखे।

छ करोडको लागतमा निर्माण गरिएको सो क्यासलमा पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ, अनमोल पालिखे, विजया गुरुङ, राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङ, विशाल श्रेष्ठ, दिलीप कार्की र पवन गुरुङको लगानी रहेको छ।
कार्यक्रममा इण्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालकोतर्फबाट प्याराग्लाइडिङमा रजत पदक दिलाउन सफल प्रशिक्षक योगेश भट्टराईलाई सम्मान गरिएको थियो।
कार्यक्रममा क्यासल सञ्चालक गुरुङ, प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, राष्ट्रिय खेलकूद परिषद्का बोर्ड सदस्य राजेश गुरुङलगायत उपस्थित थिए।