कृषि मन्त्री खनाललाई डेंगु, ग्राण्डी अस्पतालमा उपचार हुँदै
काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

डेंगु संक्रमणको आशंकामा उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेका थिए । बुधबार साँझ अस्पतालले डेंगु संक्रमण भएको पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको हो ।
मन्त्री खनाललाई डेंगु ज्वरो भएको मन्त्रीका निजी सचिवालय स्रोतले पनि पुष्टि गरेको छ । मन्त्री खनाललाई अत्याधिक मात्रामा ज्वरो आएपछि काठमाडौंको टेकुस्थित अस्पतालमा रगत परीक्षणबाट उनलाई डेंगु संक्रमण देखिएको थियो ।
मन्त्री खनालको स्वास्थ्य अहिले सामान्य रहेको र भोलिसम्ममा डिस्चार्ज हुने सचिवालयले जनाएको छ ।