दुई बर्षमा देवचुली नगरपालिका भरी शुद्ध पिउने पानी
शोभा जिसी
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको कतिपय स्थान यस्तो छ अझै पनि मुलपानीकै भर पर्नु पर्ने बाध्यता छ। त्यति मात्रै होइन गाउँगाउँमा पिउने पानीको धारा पुगेको स्थानमा पनि घण्टौं लाइन लागेर पानी कुर्नु पर्ने बाध्यता छ।
देवचुली नगरपालिकाको सहरी क्षेत्रमा पानीको समस्या कम भएपनि ग्रामिण क्षेत्रका बासिन्दाले भने अझै पनि पानीकै कारण निक्कै सास्ती बेहोर्नु परेको छ। शुद्ध पिउने पानी सबै सहज र सर्वसुलभ तरिकाले पाउनु पर्छ । त्यसैले देवचुली नगरपालिकाले आगामी २ बर्ष भित्र नगरपालिकाका सम्पूर्ण बासिन्दालाई शुद्ध पिउने पानी उपलब्ध गराउने योजनाका साथ काममा लागेको छ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीका अनुसार देवचुली नगरपालिकाले नगरपालिका भित्र अहिले साना ठूला गरी २५ वटा खानेपानी आयोजनाहरुमा काम गरिरहेको छ । तिवारीले केहीमा स्थानीय सरकारले केहीमा प्रदेश सरकार मातहत त केहीमा संघीय सरकारमातहत बजेट परेका छन् ।
तिवारीले भने हामी अब दुई बर्ष भित्र देवचुली नगरपालिकाका सम्पूर्ण उपभोक्तालाई शुद्ध पिउने पानी त्यो पनि प्रयाप्त मात्रामा उपलब्ध गराउने छौं।
देवचुली नगरपालिकामा दिव्यपुरी खानेपानी आयोजना, प्रगतिनगर खानेपानी आयोजना, रजहर खानेपानी आयोजना, विशालटार खानेपानी आयोजना, बरटाँडी खानेपानी आयोजना, देवचुली खानेपानी आयोजना, कुमसोद खानेपानी आयोजना, बन्दीपुर खानेपानी आयोजना, आँपचौर खानेपानी आयोजना लगायतका आयोजनाहरु सञ्चालनमा छन् ।
नगरपालिकाले गत आर्थिक बर्ष खानेपानी बर्षको रुपमा मनाएर सञ्चालनमा आएका आयोजनाका स्तरवुद्धि गर्ने, नयाँ आयोजनाका शुरु गर्ने, बन्द तथा निक्कै कमजोर अवस्थामा पुगेका आयोजनाहरुलाई नयाँ तरिकालाई निर्माण गर्ने जस्ता योजनाहरु अगाडि सारेको देवचुली नगरपालिकाका उपप्रमुख तिवारीले बताए।
नगरपालिकाको यसै योजना अन्तरगत दिव्यपुरी खानेपानी आयोजनाको आकाशे टंकी, वाल कम्पाउण्ड र पाइप लाइन विस्तारका लागि गण्डकी प्रदेश सरकारले ६ करोडको ठेग्का लगाएको दिव्यपुरी खानेपानी आयोजनाका अध्यक्ष तिलप्रसाद पाठकले बताए।
पाठकका अनुसार दिव्यपुरी खानेपानी आयोजना मार्फत अहिले १६ सय घरधुरीमा पानी वितरण गरिएको छ भने आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपछि २५ सय घरधुरीमा शुद्ध पिउने पानी उपलब्ध हुने छ।
यो आयोजनाले अहिले देवचुली नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ लाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ।
यस आयोजनामा गत बर्ष प्रदेश सरकारले ७५ लाख, नगरपालिकाले १० लाख, संघीय सरकारमार्फत १५ लाख र सम्बन्धित वडाका वडा कार्यालयहरुबाट ३८ लाख बजेट विनियोजन गरेको थियो ।
त्यो रकमले डिपिआर निर्माण, पाइपलाइन विस्तार, मोटर खरिद, जस्ता काम भएको अध्यक्ष पाठकले बताए।
यो आयोजना निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्दासम्मको ३६ करोड खर्च हुने अनुमान गरिएको छ। अध्यक्ष पाठकका अनुसार दिव्यपुरी खानेपानी आयोजनाबाट अहिले उपभोक्ताहरुलाई जेनतेन शुद्ध पिउने पानी उपलब्ध गराइएको छ भने आयोजना निर्माण सम्पन्न भएपछि सबैलाई सरल तरिकाले पानी उपलब्ध गराइने छ।
आयोजनाले अहिले पानी नपुगेको क्षेत्र देवचुली नगरपालिका ४ झाँक्रेमा पाइपलाइन विस्तार र ३ लाख लिटरको खानेपानी टंकी निर्माण गरिरहेको छ।
त्यसैगरी बरटाँडी खानेपानी आयोजना देवचुली १७ का लागि गत बर्ष गण्डकी प्रदेश सरकारले ९० लाख बजेट विनियोजन गरेर आयोजनाको काम अगाडि बढाएको छ।
९० लाखले पाइपलाइन विस्तारको काम अगाडि बढाएको बरटाँडी आयोजनाका सदस्य हर्क तामाङले बताए।
तिन सय घरधुरीका लागि यो आयोजनासँग प्रयाप्त पानीको मुहान भएपनि बजेट अभावका कारण आयोजना पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसक्दा उपभाक्ताले लाइन लागेर पानी भर्नु पर्ने बाध्यता रहेको छ।
यहाँ अहिले ३ सय घरलाई जम्मा १४ वटा सार्वजनिक धारा जडान गरिएको छ भने एउटा पनि निजी धारा वितरण नगरिएको सदस्य तामाङले बताए ।
यो आयोजना देवचुली नगरपालिकाको बन्दीपुर पाखाको खाल्सामा रहेका मुलपानीबाट पिउने पानी ल्याउने गरिएको छ।
प्रगतिनगर खानेपानी आयोजनामा ८ करोडको ठेग्का लागेको छ। प्रगतिनगर खानेपानी आयोजनाकै लागि संघीय सरकार मार्फत ७० लाख बजेट परेको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बताए।
त्यसैगरी देवचुली खानेपानी आयोजनामा प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेर डिपिआरको काम सम्पन्न गरेको छ भने ठेक्का लगाउने तयारीमा रहेको छ।
त्यसैगरी कुमसोद खानेपानी आयोजना, बन्दीपुर खानेपानी आयोजना, आँपचौर खानेपानी आयोजना लगायतका आयोजनाहरुमा पनि प्रदेश सरकारले २० देखि २५ लाख बजेट विनियोजना गरेको छ।