विपी जयन्तीको अवसर पारेर नवलपुरमा पनि गर्यो काँग्रेसले जागरण अभियान
नवलपरासी, २४ भदौ । नेपाली काँग्रेस नवलपुरले १ सय ६ औं विपी जयन्तीको अवसर पारेर मंगलबारबाट नवलपुरका चार स्थानबाट जागरण अभियान शुरु गरेको छ ।
प्रदेश तहका ४ वटा निर्वाचन क्षेत्रबाट एकै साथ मंगलबारबाट अभियान थालिएको नेपाली काँग्रेस नवलपुरका जिल्ला सचिव बालकृष्ण घिमिरेले बताए ।
घिमिरेका अनुसार गैडाकोट, कावासोती, मध्यविन्दु र दुम्किबासबाट एकसाथ अभियान थालिएको हो । मंगलबार परेको १ सय ६ औं विपी जयन्तीको अवसर पारेर मंगलबार ४ स्थानमै एक सय ६ वटाका दरले वृक्षारोपण गरि अभियानको उद्घाटन गरिएको हो ।

अभियान भदौ २४ गते मंगलबारदेखि असोज ७ गतेसम्म चल्ने छ । यो दोस्रो चरणको अभियान हो ।
पार्टी भित्र संगठनात्मक क्रियाशिलता बढाउन र सरकारको गलत कामको भण्डाफोर गर्न काँग्रेसले अभियान थालेको हो ।
जस अन्तरगत मंगलबार प्रदेश सरकारको निर्वाचन क्षेत्र नवलपुर १ क को गैडाकोटमा रहेको नारायणी माविमा वृक्षारोपण गरिएको छ । केन्द्रिय प्रतिनिधि शंकर पाण्डेको नेतृत्वमा रहेको टोलीले गैडाकोटमा वृक्षारोपण गरेको हो । वृक्षारोपणसँगै जागरण सभा गरेर जागरण अभियानको उद्घाटन गरिएको थियो ।
त्यसैगरी १ ख को कावासोती १३ पिठौलीमा केन्द्रिय प्रतिनिधि रघुनाथ पौडेलको नेतृत्वमा रहेको टोलीले वृक्षारोपण तथा जागरण सभा, २ क को इटौरामा केन्द्रिय प्रतिनिधि सरस्वती अर्यालको नेतृत्वमा रहेको टोलीले वृक्षारोपण तथा जागरण सभा र २ ख को दुम्किबासमा केन्द्रिय प्रतिनिधि शंकर जोशीको नेतृत्वमा रहेको टोलीले वृक्षारोपण सहितको सभाको कार्यक्रम रहेको घिमिरेले बताए ।
जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेशलगायत कार्यक्रम हुने प्रदेश सांसद विष्णु लामिछानेले जानकारी दिए। अभियान क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, शहीद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश एवं काङ्ग्रेसका लागि सल्लाह सुझावहरु संकलन गरिने उनले बताए।
