पक्राउ परेका ९ विद्यार्थी रिहा, विप्लवका छोरा प्रकाश छुटेनन
चितवन मेडिकल कलेजको विवाद चरमउत्कर्षमा पुगेको छ । आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएपछि विवाद उत्कर्षमा पुगेको हो । निरन्तर प्रदर्शन गरिरहेका विद्यार्थीहरु बुधबार विहान अस्पताल भित्र प्रवेश गर्न खोजेका थिए ।
सो क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो । अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन् । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
प्रहरीले आन्दोलनकारी १७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये नौं जनालाई प्रहरीले बुधबार साँझ नै अभिभावकको रोहबरमा छाडेको छ । तर सोही क्रममा पक्राउ परेका सरकारद्धारा प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द भने प्रहरी हिरासतमै छन् । उनकै अगुवाइमा यहाँ आन्दोलन हुँदै आएको छ ।
चितवन मेडिकल कलेजमा विभिन्न तहमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राखी विगत दुई सातादेखि आन्दोलनमा छन् । उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको जस्ता आरोप कलेज प्रशासनमाथि लगाएका छन् ।
यसैबीच चितवन मेडिकल कलेज प्रशासनले विद्यार्थी आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ । – नारायणी अनलाइनबाट