फलाम खानी उत्खननमा सरकारको अग्रसरता, सडक निर्माणको काम धमाधम


दयाराम आचार्य




कावासोती, ३१ भदौं । 

 

नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ ।




फलाम खानी सञ्चालनका लागि सडक विभागले समेत बाटो निर्माणको काम गरिरहेको छ । अहिले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भू–गर्भ विभाग र सडक विभागबाट फलाम खानीको उत्खननका लागि अग्रसरताका साथ काम भइरहेको छ । फलाम खानी सञ्चालनको पहिलो पूर्वाधार सडक निर्माण भएकाले सडकको ट्र्याक खोल्ने काम तीव्रगतिमा चलिरहेको छ । पूर्वपश्चिम राजमार्गको डण्डादेखि करीब २० किलोमिटर र हुप्सेकोट गाउँपालिकाको झ्यालबासदेखि १४.५ किलोमिटरको दूरीमा रहेको फलाम खानीको हालसम्म छ किलोमिटर बाटोको ट्र्याक खोल्ने काम सकिएको छ । गत वर्ष विनियोजन गरिएको करीब रु पाँच करोड बजेटले छ किलोमिटर बाटो ट्र्याक खोल्ने काम सकिएको छ ।

उक्त ठेक्का लाग्दा बाँकी रहेको केही रकमले थप दुई किलोमिटरसम्मको ट्र्याक खोल्ने काम भइरहेको सडक विभागका सवइञ्जिनीयर नवीन पाण्डेले जानकारी दिनुभयो । यस वर्षका लागि समेत रु पाँच करोड विनियोजन गरिएको छ । यो रकमले झण्डै फलाम खानीसम्मको ट्र्याक खोल्ने काम सम्पन्न हुने उहाँले बताउनुभयो । झ्यालबासदेखि एक किलोमिटरसम्ममा नाला निर्माण तथा ग्राभेल गर्ने कामसमेत चल्दैछ ।

खानी तथा भू–गर्भ विभागले फलाम खानी रहेको क्षेत्रमा अहिले सम्भाव्यता अध्ययनको काम गरिरहेको छ । जसअन्तर्गत औद्योगिक प्लान्ट कस्तो रहने, कुन क्षमताको रहने, कुन स्थानमा राख्न सकिने, उत्खननको काम कसरी गर्ने भन्ने विषयको अध्ययन चलिरहेको विभागका सिनियर डिभिजन जियोलोजिष्ट नारायणप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार अहिलेको अध्ययनले उत्पादनदेखि बजारीकरणसम्म के कस्तो अवस्था रहन्छ भन्ने निष्कर्ष निकालिनेछ । फलाम कमसल खालको भएकाले दुई वटा प्लान्ट निर्माण गरिने जियोलोजिष्ट उहाँले बताउनुभयो ।

पहिलो चरणमा प्रशोधन गरी फलाम उत्पादनका लागि दोस्रो चरणमा कार्य गरिने उहाँले बताउनुभयो । प्रशोधन केन्द्र खानी भएकै स्थानमा स्थापना गर्न सकिने उहाँले जानकारी दिनुभयो । यसअघि औद्योगिक परीक्षणका लागि यहाँबाट पाँच टन नमूना चीन पठाइएको छ । विभिन्न १६ स्थानबाट निकाली पठाइएको नमूना परीक्षणले औद्योगिकस्तरमा कति मात्रा फलाम निकाल्न सकिन्छ भन्ने पत्ता लाग्नेछ । परीक्षणको नतिजा अबका दुई महीनासम्ममा आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

यहाँ रहेको चट्टानमा ३६ प्रतिशत धाउको मात्रा देखिएको छ । यसलाई एक गे्रड स्तरोन्नति गरी ५८ प्रतिशतको बनाएर फलाम उत्पादन गर्न सकिने देखिएको बाँस्कोटाले बताउनुभयो । प्रयोगशाला परीक्षणले मध्यम खालको फलाम उत्पादन गर्न सकिने देखिएको बताइएको छ । विसं २०६८ मा खानी तथा भू–गर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा सो स्थानमा फलाम खानी फेला पारेको थियो ।

सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो । पूर्वपश्चिम राजमार्गदेखि करीब २० किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलाम खानी रहेको छ । यहाँको १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको जनाइएको छ । यहाँबाट १० करोड टन फलाम निकाल्न सकिने प्रारम्भिक अनुमान छ । धौवादीको फलाम खानी अहिलेसम्म फेला परेका खानीमध्ये नेपालकै ठूलो भएको भूगर्भविद्ले बताएका छन् । रासस




सम्बन्धित
Loading...