यौन प्रस्ताव नमान्दा १५ वर्षीय किशोरद्वारा बालिकाको हत्या
सिन्धुली । सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । युवकको यौन प्रस्ताव अस्वीकार गर्दा बिहिबार दिउँसो उनको ज्यान गएको हो । मरिण गाउँपालिका वडा नं. १ आहालेकी १३ वर्षीय छलिमाया मोक्तानको एक १५ वर्षीय किशोरले हत्या गरेका हुन् ।
गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्केकी बालिकाको पिछा गरेका ती किशोरले नजिकैको जंगलमा रहेको खोल्सामा पुगेर बालिकाको हत्या गरेको पाइएको छ । बालिकासँग करिब एक घण्टा गफ गरेको र यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी थिची हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्र बहादुर सिंहले बताए । उनका अनुसार ती किशोरले आफुले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी निमोठेको र बालिका लडेपछि पुनः थिचेर हत्या गरेको स्वीकार गरेका छन् ।
किशोरलाई शनिबार मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको छ । परिवारका सदस्यले खोजी गर्दा बालिका फेला नपरेको र असोज ३ गते साँझ मृत फेला परेपछि हत्याबारे प्रहरीले जानकारी पाएको एसपी सिंहले बताए । बालिकाको शव सिन्धुली अस्पतालमा शनिबार नै पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको उनले बताए ।
बालिकासंगै ती युवा गएको देखेका स्थानीय व्यक्तिले जानकारी दिएपछि युवकलाई प्रहरीले खोजी गरेको थियो । काठमाडौँको होटलमा मजदुरका रुपमा काम गर्ने ती किशोरले बालिकासँग यसअघि पनि यौन सम्बन्ध राखेको बताएको प्रहरीले जनाएको छ । किशोरलाई २०७६ असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
