नवलपरासीका ३ स्थानमा सवारी दुर्घटना, ६ जनाको मृत्यु, २२ जना घाइते




नवलपरासी, ७ असोज । पूर्वी नवलपरासीमा गएराति भएका ३ छुट्टाछुट्टै दुर्घटनामा परी ६ जनाको निधन भएको छ भने २२ जना घाइते भएका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कारलाई ठक्कर दिएको हो ।
ठक्करबाट कारमा सवार ५ जना पुरुषको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, २९ बर्षीय हिरा राना, ३१ बर्षीय दिपेश राना, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको मृत्यु भएको छ ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कारका यात्रुहरुको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० जंगलमा दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस गएराति दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने बसमा सवार सबै घाइते भएका छन् ।
बस सडक छेउ पल्टन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
घाइतेहरु मध्ये मकवानपुर जिल्लाको हेटौडा घर बताउने बस चालक ३५ बर्षीय लक्ष्मण तिमिल्सिनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये १५ जनाको पहिचान भएको छ भने अन्य घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कावासोतीको नवलपुर अस्पताल, कालीगण्डकी अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी मंगलबार विहान पूर्वपश्चिम राजमार्गकै नवलपरासीको मध्यविन्दु नगरपालिका ७ को चालिसकिलो मिटर जंगलमा सुर्खेतबाट विरगञ्जका लागि हिडेको ना ४ ख ९५१० नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ७ जना घाइते भएका छन् ।



सम्बन्धित
Loading...