कडा सुरक्षा र आक्रमणका घटनाबीच अफगानिस्तानमा मतदान सम्पन्न




अफगानिस्तानमा कडा सुरक्षा र बम आक्रमणका घटनाबीच शनिवार राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतदान सकिएको छ। मतदान केन्द्रलाई निशाना बनाउने बताएका तालिबान लडाकुको चेतावनीबीच देशभरि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

मतदान केन्द्रहरूमा गरिएका बम र मोर्टार आक्रमणमा कम्तीमा एकजना मारिएका छन् भने २७ जना घाइते भएका छन्। कान्दहारस्थित एउटा मतदान केन्द्रमा बम विस्फोटको घटना भए पनि मतदान गर्न महिलाहरू लामबद्ध देखिएका थिए। स्वतन्त्र निर्वाचन आयोगले तीन हप्ताभित्र मतदानको नतिजा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।




दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समय देखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि निर्वाचन भएको हो।

अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन्। उनीहरू सन् २०१४ देखि सत्तामा छन्। चार दशक लामो युद्धको मारमा परेको मुलुकलाई निर्वाचित हुने राष्ट्रपतिले नेतृत्व गर्नेछन्।

अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गरेको दुई दशकदेखि अमेरिकाले तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ। हाल १४ हजार अमेरिकी सेना अफगानिस्तानमा तैनाथ छन्। ब्रिटेन, जर्मनी र इटली जस्ता मुलुकबाट समेत त्यहाँ हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्।



सम्बन्धित
Loading...