दशैंको खानपिनका लागि टिप्स, के केमा ध्यान दिने?





हामी बालबालिका हुँदा र अझै अघिबाट नै दशैंको नाम उच्चारण गर्दै औला भाच्थ्यौ । ‘दशैं आयो खाउँला पिउँला, नयाँ नाना लाउँला’ यो वाक्याम्स पटक पटक जानेर वा अनायाशै मुखबाट निस्कन्थ्यो । हुन पनि नेपालीहरुको महान चार्ड दशैंलाई मीठोमीठो परिकार बनाएर खाने चार्डका रुपमा लिइन्छ ।

दशैंमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम नेपालीको बानी छ । मासुसँगै दशैंमा मदिरा सेवनले पनि प्राथमिकता पाउँछ । दशैं सबैले रमाइलो गर्नुपर्छ यो रमाइलोका लागि खानपानमा ध्यान दिनुपर्छ । यसपालीको दशैंमा हामीले ख्याल गर्नुपर्ने कुरा यस्त हुन सक्छन् ।




सेतो मासु प्राथमिकतामा राख्नुहोस् 

तुलनात्मक रुपमा अन्य चार्डपर्वभन्दा दशैंमा माछामासुको खपत बढी हुने गर्दछ । धेरैले त घरमै खसीबोका तथा च्याङ्ग्रा काट्ने गर्दछन् । दशैंका लागि विदेशबाट पनि खसीबोका ल्याइन्छ । मासुका लागि तयार पारिने खसी बोका, राँगा, बँदेल, भेंडा, च्याङ्ग्राको मासुको सेवानमा विशेष ध्यान दिनुपर्दछ । साथै यसलाई पकाउने विषयमा पनि ख्याल पुर्‍याउनु अनिवार्य छ ।

मासु दुई प्रकारको हुन्छ । सेतो मासु र रातो मासु । सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ ।

कुखुरा, माछा, अष्ट्रिज, इमु लगायतबाट प्राप्त हुने मासु सेतो मासु हो । चार खुट्टे जनावरबाट प्राप्त हुने मासु भने रातो मासु हो । रातो मासुमा अत्याधिक प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ ।

मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई सबैभन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ ।

रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । यस्ता फ्याटले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँछ । मासुका साथै यस्ता फ्याट दूधबाट बनेका कुराहरुमा पनि बढी पाइन्छ । साथै बेक गरिएका र बढी फ्राइ गरिएका कुराहरुमा यस्तो फ्याट बढी हुन्छ ।

अमेरिकन हार्ट एशोसियसनका अनुसार आफूलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशत भन्दा बढी हुनुहुँदैन । स्वस्थ रहनको लागि स्याचुरेटेटड फ्याट बढी भएको खानाहरु नखानु नै उत्तम हुन्छ । स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट बढी राम्रो हुन्छ । ओलिभको तेल, बदामको तेल, तिलको तेल लगायतमा यस्ता फ्याट बढी पाइन्छ । त्यसैले यस्ता तेललाई भुटनका रुपमा प्रयोग गर्नसके धेरै राम्रो हुन्छ ।

मासुको छाला नखाएकै राम्रो 

मासुको प्रयोगमा छाला पनि मानव स्वास्थ्यका लागि धेरै फाइदाजनक हुँदैन । छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । संगै खसीबोका लगायतका जनावरको छालामा काटिएर रहेका रौ पनि रहन्छ । त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ ।

जंक फुड र चिसो पेयबाट जोगिने की !

दशैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स आइसक्रिम, मह, जाम, केक लगायत पनि खानु मधुमेहीका लागि हानिकारक छ ।

सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले राम्रो गर्दैन । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन । बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थहरुमा कम्पोजिसन भनेर प्याकेटमा यस्ता कुराहरु लेखिएका हुन्छन् । अलिकति ध्यान दिने हो भने त्यस खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् बुझ्न सकिन्छ ।

सोयाबिनको तेल, मकैको तेल, सनफ्लावरको तेल आदिमा पाइने पोलि–अनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटाभिन इ का साथै एन्टिअक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ  । साथै, शरीरलाई चाहिने तर शरीरमा उत्पादन नहुने ओमेगा ३ तथा ओमेगा ६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गर्न मद्धत गर्छ ।

मुटुरोग, रक्तचाप, प्यारालाइसिस लगायत रोगबाट टाढा रहन खानामा स्याचुरेटेड फ्याटको मात्रा कम र मोनो र पोलि–अनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनुपर्ने अमेरिकन हार्ट एसोसियशनको सल्लाह छ ।

कम मसला नै राम्रो

दशैंमा परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसंगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन् ।

त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ । अझ दशैंका बेला दीर्घरोगीहरुले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी छ । दशैंमा मनलाग्दी तवरले खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीलाई बढी समस्या पर्न सक्छ ।

मधुमेहका बिमारीहरुले गुलियो र चिल्लो पदार्थ खानुहुँदैन । मुटु रोगीका लागि बढी चिल्लो पदार्थ खान निषेध नै छ । दशैं र तिहारमा सेवन गरिने परिकार गुलियो र चिल्लोको मात्रा धेरै हुने भएकाले यि रोगीहरु विशेष सावधान हुनुपर्छ । सेलरोटी, मिठाइ, चकलेट लगायतको प्रयोग सकेसम्म सबैले कम गर्दा फाइदा हुन्छ ।

धुम्रपान र मद्यपान हानीकारक

दशैंमा मात्र होइन अरु समय पनि धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानीकारक हो । त्यसमा पनि दशैंमा रमाइलोका नाममा बढी धुमपान र मद्यपान गर्दा अनाहकमा ज्यान गुमाउनुपर्नेस्म्मका जोखिम आइपर्न सक्छन् ।

दशैंको बहानामा यो क्रियाकलापमा सहभागी नभएकै राम्रो त्यसमा पनि रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ ।

दशैं हो भनेर जथाभावी मद्यपान गर्दा सुगरर प्रेसरको समस्या बढ्न सक्छ । मुटुरोगीलाई पनि यसले पटक्कै फाइदा गर्दैन । रक्सीको सेवनले रगतमा ट्रइग्लिसेराइडको मात्रा बढाउँछ । जसले मुटुरोग, हृदयाघात र पक्षघात गराउनमा विशेष भूमिका खेल्छ । रक्सी भनेको कार्बोहाइट्रेड हो  ।

त्यसैले शरीरको वजन बढाउन तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ । रक्सी, वाइन, वियर, जिन, लोकल, छ्याङ्, जे भने पनि सबै रक्सी नै हुन् । खाली अल्कोहोलको मात्रा मात्रै फरक–फरक हुन्छन् ।

खानाबाट हुने अपचसँग जोगिनुहोस्

दशैंमा हामीले खानेकुरामा प्रोटिनयुक्त खानेकुरा धेरै हुन्छन् । बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अन्य समयको जस्तो छिटो नपच्न सक्छ । यदी त्यसो भयो भने पनि बिरामी हुने खतरा हुन्छ । खानपिनकै कारण धेरैको दशैं दशा बनेको उदाहरण पनि छन् । चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ ।

तर, तिनीहरूको मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्दछ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । चिल्लो, अमिलो, पीरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलस्ट्रोल बढाउने र बोसोको मात्र बढी हुन्छ, जसका कारण अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखा पर्छन् ।

कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ । दशैंमा मासु पहिले नै पकाएर राखी बासी बनाएर नखाँदा राम्रो हुन्छ । बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुने हुन्छ ।

मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउने बानिको विकास अहिले जरुरी छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी मासु पकाउनु राम्रो हुन्छ । उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

शाहाकारी खाना नै दशैंका लागि उत्तम

आफ्नो चार्ड आफ्नै खुसीले मनाउने तर्क पनि धेरैको हुन्छ । तर, यस्ता चार्डपर्व शाहाकारी भोजन गर्ने र नियमित व्यायाम गर्नेको रमाइलो भएका उदाहरण पनि धेरै छन् । दशैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन ।

धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ । काम कम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन ।

उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन् । अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा पुर्‍याउँछ ।

मासु खाएपनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ । सँगै दशैंमा काम नगरी विभिन्न खेलमा रमेर बस्ने, टिभीमै केन्द्रित हुने लगायत अल्छी प्रवृत्ति पनि हुन्छ । त्यसले रोगीहरुको स्वास्थ्य झन बिग्रिनछ ।

सामान्य मानिसको पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसैले व्यायाम गर्ने, नियमित रुपमा हिँडडुल गर्ने र सक्रिय काममा सहभागी हुने गरेमा  खाना पचाउन सहयोग पुग्छ नै शरीमा स्फुर्ति पनि बढ्छ ।




सम्बन्धित
Loading...