रौतहटमा गोली हानेर युवकको हत्या
रौतहटको इशनाथ नगरपालिकामा एक युवकको गोली हानेर हत्या भएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन ।
मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २५ बर्षका छन् ।
मृतकको साथ बाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

