चितवनमा उपनिर्वाचनः काँग्रेसले टुङगो लगायो उम्मेद्वार (नामसहित)





चितवन, असोज २७–

नेपाली काँग्रेस चितवनले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वार तय गरेको छ । वडा समितिले सर्वसम्मत रुपमा उम्मेद्वार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।




काँग्रेसको तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिकाको वडा नं.४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेद्वार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्ष समेत हुन् । यस्तै सोही नगरपालिकाको वडा नं.५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेद्वार बन्ने पक्का भएको छ । उम्मेद्वारका लागि सिफारिस बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई काँग्रेस वडा समितिले सर्वसम्मत रुपमा जिल्लामा सिफारिस गरेको छ ।

यी दुवै वडामा काँग्रेसले विजयी हासिल गरेको थियो । केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परि तत्कालिन वडा नंं. ४ का अध्यक्ष नरेन्द्र अधिकारी र वडा नं. ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

 

यस्तै काँग्रेसले भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि पनि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ । केही महिना अघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय गुरुङ तत्कालिन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले काँग्रेसका उम्मेद्वार अमृत हमाललाई पराजित गरेका थिए । अहिले काँग्रेसले पुनः हमाललाई नै उम्मेद्वारका लागि सिफारिस गरेको हो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उपनिर्वाचनका लागि तिनवटै वडा समितिले सर्वसम्मत रुपमा उम्मेद्वारको नाम सिफारिस गरेकोले सोही नामहरु अनुमोदन हुने बताए । उनले भने–‘वडाबाटै सर्वसम्मत नाम आएपछि विवादको विषय नै रहने, सिफारिस व्यक्तिलाई नै काँग्रेसले उम्मेद्वार बनाउँछ ।’ सभापति श्रेष्ठले निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार नै काँग्रेसले उम्मेद्वारको नामावली औपचारिक रुपमा घोषणा गरिने बताए ।

जिल्ला सभापति श्रेष्ठले खैरहनीको दुवै वडामा यसअघि काँग्रेसले जित हासिल गरेकाले त्यहाँ पुनः जित निश्चित जस्तै रहेको दावी गरे । उनले काँग्रेसको मुख्य ध्यान भरतपुर १६ मा केन्द्रित रहेको बताए । उनले भने–‘खैरहनीमा हाम्रो जित निश्चित जस्तै हो, भरतपुर १६ मा जित हासिल गर्ने गरी तयारी गरिरहेका छौं ।’





सम्बन्धित
Loading...