सरकारको देश विकासका लागि दृष्टिकोण देखिएन : महामन्त्री कोइराला

चितवन- नेपाली कांग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री कोइरालाले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने संकेत दिने बताए।
प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उनले प्रेस जहिले पनि स्वतन्त्र भएर रहनुपर्ने बताए। अहिलेको सरकारले प्रेसलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको भन्दै कोइरालाले त्यसलाई आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताए।
देश समृद्ध बनाउनका लागि विदेशमा रहेका ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उनले नेपालमा अहिले भएका सबै विकास काङ्ग्रेसका पालामा भएको दाबी गरे।
अहिले दुईतिहाइको सरकार भएर पनि देश विकासका लागि स्पष्ट दृष्टिकोण नदेिखएको कोइरालाको टिप्पणी थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव नरहेको बताए। कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य राखेका थिए।