मूर्ति बिसर्जनका क्रममा तनाव, १० घाईते कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू
लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लागेको छ। विवाद पछिकाे झडपमा ६ जना प्रहरी सहित १० जना घाईते भएका छन् ।
हिजाे साँझदेखि विवाद शुरू भएकाे हाे । विवाद लगतै हिजाे साँझदेखि नै नेपाल भारत सिमा शिल गरिएकाेे छ ।
लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो।
कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो। प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
यसअघि गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुदाँ प्रशासनले कर्फ्यू लगाएको थियो। गत वर्ष तीन दिनसम्म विवाद लम्बिएपछि स्थिति नियन्त्रणमा लिन कात्तिक ५ गतेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो।
