महराकाे थुनछेक बहस सकिए आजै छुट्न सक्ने




निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र दायर हुने भएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाही माथि यौन दुव्र्यवहार गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरामाथि अनुसन्धान सकेर ८ कात्तिकमा प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाई सकेको छ ।

सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले महरामाथि जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी उद्योगमा अभियोगपत्र दायर गर्न लागेको काठमाडौं प्रहरी स्रोतको भनाइ छ ।




महरामाथिको अभियोगपत्र आजै काठमाडौं जिल्ला अदालतमा दायर गर्ने तयारी वकिल कार्यलयको छ । फौजदारी संहितामा १८ वर्षभन्दा बढी उमेर समूहकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

महराविरूद्ध करणी उद्योगमा मुद्दा दर्ता गर्न लागेकाले सो सजायको आधा अर्थात् ५ वर्षसम्म जेल सजाय माग गर्ने सरकारी वकिल कार्यालयको तयारी रहेको प्रहरीको भनाइ छ । अभियोगपत्र अदालतमा पेस गरेसँगै महरामाथि अदालतमा थुनछेकको बहस सुरु हुने छ ।

थुनछेक बहस आजै सकिए साधारण तारेखमा छुट्ने, धरौटी तिरेर छुट्ने वा पुर्पक्षका लागि जेल चलानमध्ये एउटा आदेश हुनेछ । जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलोपटक १३ दिन, दोस्रोपटक ५ दिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो ।

जबर्जस्ती करणी उद्योगमा प्रहरीले २५ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउनु पर्ने कानुनी प्रकृया पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको हो ।



सम्बन्धित
Loading...