पश्चिम नवलपरासीमा छठ पर्वको तयारी

परासी, १४ कात्तिक । नवलपरासीको परासीमा पनि छठ पर्वको रौनक शुरु भएको छ । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिएको छ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ ।
व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर जस्ता वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ ।
यस्तैगरी पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारको झरही खोलामा छठ पर्वको तयारी तीब्र रुपमा भैरहेको छठ मेला आयोजक समितीले जनाएको छ ।
छठ मेलाको लागी एक हप्तादेखि नै नदीको किनार र घाटमा माटो सम्याउने, खाडलहरु पुर्ने, बिजुली बत्तीको ब्यवस्थापन , सरसफाइ लगायत टेन्टको पनि ब्यवस्थापन भैरहेको छठ मेला ब्यवस्थापन समितीका अध्यक्ष बिजय कुमार अग्रहरीले जानकारी दिए ।
छठपर्व कार्तिक शुक्ल पक्ष चतुर्थीको दिन देखी शुरु हुने भएकोले गर्दा मुख्य दिन अर्थात षष्ठींको दिन पुजा स्थलहरु नदि, नाला, पोखरी ताल तलैयाको बिषेश रुपमा सजावट गर्ने गरिन्छ ।
धार्मिक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदायमा मात्र नभई पहाडी , मुस्लिम, समुदायले पनि यो पर्व मनाउदै आएका छन । देश बिदेशमा पनि छठ पर्वको उत्तिकै महत्व रहेको छ भने छठ पर्वमा ब्रत बस्दा भाकल गरेको पुरा हुने भएकोले गर्दा पछिल्लो समयमा छठ पर्व मान्ने मानिसहरुको संख्या दिन प्रतिदिन बढदै गएको छठ मेला ब्यवस्थापन समितीका अध्यक्ष बिजय कुमार अग्रहरीले बताउनु भएको छ ।
छठ पर्व एउटा समुदायको मात्र नभइ सबै जातजातिको ‘साझा पर्व भएकोले गर्दा पनि छठ पर्वमा हरेक समुदायको चासो बढदै गएको छ ।
छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ । त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पंखा सहितका सामग्री प्रयोग गरिने बिधि छ । छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने अनिवार्य परम्परा छ ।
छठ पर्वमा परापुर्व काल देखि नै सुर्यको उपासना हुदै आएको र अहिले यो प्रमाणित भएको समेत अध्यक्ष अग्रहरीले बताउनु भएको छ । उहाले पश्चिम नवलपरासीमा मात्र नभइ तराइ क्षेत्र लगायत देशब्यापी रुपमा नै छठ पर्व मनाउदै आएको बताउनु भएको छ । ‘
छठ पर्व पश्चिम नवलपरासीको सदरमुकाम परासी , सुनवल ,स्वाठी , भुमही, खुटहट , बन्जरीया , कुश्मा, महेशपुर, बयरवा , भुजहवा, सोमनी, प्रतापपुर, सुर्यपुरा, गुठीपरसौनी लगायत दक्षिणी भेगमा पनि यो पर्व मनाउने गरीन्छ भने यसको तयारी पनि सबै ठाउमा तीब्र रुपमा भैरहेको सम्बन्धित छठ मेला आयोजक समितीले जनाएका छन ।
छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने भएको हुदाँ यो अवसरमा पुजाको लागी घर घरमा बिशेष तयारी समेत गरिएको छ । यस्तै गरी छठ पर्वको अवसरमा परासीस्थित झरही खोलामा वर्षेनी लाग्ने छठ मेला एवम पूजा कार्यक्रमको उदघाटन कार्यक्रम यहि कात्तिक १६ गते दिउसो ४ बजे रहेको छठ मेला आयोजक समिती पश्चिम नवलपरासीले जनाएको छ । भने यसको समापन कार्तिक १७ गते बिहान ५ बजे हुने आयोजकले जनाएको छ ।