अधिकांश दुर्घटना मोटरसाइकलसँग सम्बन्धित


चितवन — दसैं र तिहारका बेला चितवनमा यसपालि ठूला दुर्घटना भएनन् तर दुर्घटनामा मृत्युका जति घटना भएका छन्, ती सबै साना सवारीसाधन मोटरसाइकलसँग सम्बन्धित छन् ।



यी चाडका बेला भएको दुर्घटनामा परी चितवनमा सात जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पाँच जनाको मृत्यु मोटरसाइकलले ठक्कर दिँदा भएको हो । अन्य गाडीको ठक्करले मोटरसाइकलमा बस्ने दुई जनाको मृत्यु भएको छ । कात्तिक १० गते राति पूर्वी चितवन खैरहनीस्थित राजमार्गमा बस र मोटरसाइकल ठोक्कियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ का अनिल अधिकारीको उपचार क्रममा मृत्यु भएको खैरहनी प्रहरीले जनाएको छ । चितवन प्रहरीले असोज १२ गतेदेखि चाडपर्व लक्षित विशेष सुरक्षा योजना सुरु गरेको थियो । यो बेला दुर्घटना, मृत्यु र कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल देखिएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाका अनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्मका विभिन्न दुर्घटनामा ४५ जनाको ज्यान गएको छ । जसमा गाडी दुर्घटनामा परेर ज्यान गुमाउनेहरू छ जना रहेको उनले बताए । ‘त्यसमध्ये पाँच जनाको मृत्यु मोटरसाइकलले ठक्कर दिँदा भएको छ,’ डीएसपी कोइरालाले भने, ‘टिपरको ठक्करबाट ज्यान गुमाउनेमा मोटरसाइकल चालक नै रहेका छन् ।’

प्रहरी कार्यालयबाट प्राप्त विवरणमा असोज १२ देखि कात्तिक ९ सम्म जम्मा ३३ वटा दुर्घटना भएका छन् । जसमा सबैभन्दा धेरै संख्या मोटरसाइकलको रहेको छ । यो अवधिमा चारवटा बस, छ वटा कारजिप र दुईवटा ट्रक र १२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरीको कारबाहीमा धेरैजसो मोटरसाइकल चालक नै परेका छन् । मादक पदार्थ सेवन गर्नेमा मोटरसाइकल चालक अत्यधिक रहेको डीएसपी कोइरालाले बताए । ‘यो अवधिमा मादक पदार्थ खाएर गाडी चलाउने १०५ जना कारबाहीमा परेका छन्, तीमध्ये मोटरसाइकल चालकको संख्या ७९ छ,’ उनले भने, ‘बसका दुई र ट्रकका चारजना तथा जिप कारका १९ जना कारबाहीमा परेका छन् ।’

पछिल्लो समय मोटरसाइकलको स्वरूप बिगारेर चलाउने परिपाटी युवाहरूमा देखिएको छ । स्वरूप बिगारेर चलाएका १० वटा मोटरसाइकल चालकसमेत कारबाहीमा परेका छन् । ‘कम उमेरकाले मोटरसाइकल चलाइरहेका छन् । ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने हेक्का राख्ने गरेको पनि पाइँदैन,’ डीएसपी कोइरालाले भने, ‘सडक दुर्घटना र मृत्युको मुख्य कारक मोटरसाइकल बन्दै गएको देखिन्छ ।’


सम्बन्धित
Loading...