नेपालीले आफ्नै देश जान भारतको स्वीकृति लिनुपर्ने

लिपुलेक र लिम्पियाधुरामा कहिल्यै पुगेनन् सुरक्षाकर्मी


दार्चुलाको लिपुलेक र लिम्पियाधुराको नेपाली भू–भाग भारतीय भूमिमा राख्दै भारतले उसको देशको नयाँ नक्सा सार्वजनिक गरेको छ ।
उक्त क्षेत्रमा भारतलेसन् १९६२ देखि नै उपस्थिति जनउदै आएपनि नेपाली पक्षको वेवास्ताका कारण भारतले अन्ततः आफ्नै भुमिका रुपमा नेपाली भुमिलाई नक्सामा राख्यो ।



यो क्षेत्रमा सरकारले मात्र होइन देशको सुरक्षाको जिम्मा पाएका सुरक्षा निकायसमेत उक्त विवादित क्षेत्रमा सुरक्षाका लागि उपस्थित नै हुन सकेनन् । अन्ततः भारतले यसको मौका उठाएको स्थानीयको गुनासो छ ।

नेपाल–भारत दुई देशको सामरिक महत्त्वको क्षेत्र लिपुलेकमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नै छैन ।




भारतीय सेनाले नेपालको भूमिमा गस्ती गर्छ । उता, चीनका सुरक्षाकर्मी पनि वर्षैभरि लिपुलेक क्षेत्रमा सुरक्षारत छन् । तर, नेपालको तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तीनैवटा सुरक्षा निकायको उपस्थिति छैन ।

दार्चुलाको तिंकर लिपुलेकको त्रिदेशीय सीमामा अवस्थित नेपाली गाउँ हो । त्यसकारण पनि नेपालको तर्फबाट सुरक्षाकर्मी त्यहाँ खटिनु अनिवार्य रहेको दार्चुला ब्यास गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीको भनाइ छ ।

उनी भन्छन्, ‘हामी स्थानीयलाई समेत नेपालबाट तिंकरसम्म जाने बाटो छैन । मुख्य कुरा सरकारको इच्छाशक्ति कुरा हो । दार्चुलालाई सरकारले हाम्रो देश हो भन्ने अनुभूति हुनु पर्यो, लिपुलेकसम्म जाने बाटो बनाउनुपर्यो, सीमामा सुरक्षाकर्मी खटाउनुपर्यो ।’

नेपालको तर्फबाट तिंकरभन्दा माथि छिया लेकमा प्रहरी चौकी भएपनि बन्दोबस्तीका सामानको अभावका कारण गर्मीयामको ६ महिना मात्र चौकीमा प्रहरी बस्ने र हिउँदमा तिंकरभन्दा तल सितापुल प्रहरी चौकीमा फर्किने गरेको दार्चुला प्रहरी प्रमुख डीएसपी दिपेन्द्र शाहीको भनाइ छ ।

गर्मीयाममा समेत प्रहरीले हेलिकोप्टरमार्फत बन्दोबस्तीका सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘भारत र चीनका सुरक्षाकर्मी त्यही भूमिमा बाह्रै महिना खटिएका हुन्छन्, हाम्रोपट्टिको भने ६ महिना मात्र सुरक्षाकर्मी खटिने गरेका छौं, यो इच्छाशक्तिकै कमी हो, इच्छाशक्ति कसले देखाउनुपर्ने हो । यो हामीलाई थाहा हुने कुरा होइन,’ डीएसपी शाहीले भने ।

छियालेक प्रहरी चौकी करिब ३ हजार ५ सय मिटर उचाइको हाराहारीमा छ । उसो त दार्चुलाको सदरमुकामबाट तिंकरसम्म पुग्ने बाटो नै छैन । तिंकरवासी भारतीय भूमि हुँदै घर जाने, आउने गरेका छन् । छियालेख तिंकरभन्दा माथि छ ।

त्यति मात्र होइन, छाङरू र तिंकरसम्म पुग्ने स्थानीयले भारतीय प्रशासनबाट अनुमतिपत्र लिएर मात्रै सो क्षेत्र जान पाउँछन् । दार्चुलाबासीबाहेक अन्य जिल्लाका नेपालीलाई तिंकरसम्म जानसमेत भारतले अनुमति दिँदैन ।

बीओपी राख्ने सशस्त्रको प्रस्ताव

सशस्त्र प्रहरीको हाल १ यस ६ स्थानमा आउट बोर्डर पोष्ट (बीओपी) राखेको छ । तर, हालसम्मका सबै पोष्ट दक्षिण सीमामा मात्र सीमित छन् । उत्तरी सीमानाकामा भने सशस्त्रले अहिलेसम्म बीओपी राख्न सकेको छैन ।

सशस्त्र प्रहरीका अनुसार उत्तरसँग जोडिएका दार्चुलाको लिपुलेक, मुुस्ताङको कोराला, संखुवासभाको किमाथाङ्का, डोल्पाको हिल्सा चीनसँग जोडिएको दोलखामा समेत सशस्त्रले बीओपी राख्ने प्रस्ताव गरेको छ ।

तर, सशस्त्रको प्रस्तावमाथि सरकारको इच्छाशक्ति कमी देखिएको कारण केही ढिलाइ भएको सशस्त्र प्रहरीको भनाइ छ ।



सम्बन्धित
Loading...