कास्की २ उपनिर्वाचन : स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी

188







पोखरा । प्रतिनिधिसभा सदस्य अन्तर्गत कास्की क्षेत्र २ मा हुने उपनिर्वाचनको लागि १४ दल र ११ स्वतन्त्र गरी २५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । उम्मेदवार दर्ता गराउनु अघि बाजागाज सहित नाराबाजी गरेर जुलुस निस्केेेेकााे थियो ।

मंसिर १४ मा हुने उपनिर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख विपक्षी दल नेपाली काँग्रेस, साझा पार्टी, राप्रपा, नेकपा (माले), राप्रपा (संयुक्त), मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली काँग्रेस (वीपी) का उम्मेदवार सहित स्वतन्त्र रुपमा मनोनयन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
नेकपाबाट विद्या भट्टराईले दोस्रो नम्बरमा आफ्नो उम्मेदवार दर्ता गराइन् । रवीन्द्र अधिकारी पत्नी भट्टराईको समर्थकमा प्रदेश सांसद समेत रहेकी प्रभा कोइराला र प्रस्तावकमा प्रदेश सांसद एवं नेकपा कास्की अध्यक्ष कृष्णबहादुर थापा छन् ।


काँग्रेसबाट खेमराज पौडेलले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन । उनको प्रस्तावकमा अघिल्लो चुनावमा पराजित देवराज चालिसे र समर्थकनमा सोभियतबहादुर अधिकारी रहेका छन् । उम्मेदवारमध्ये सबैभन्दा पाका ७४ वर्षीय खेमराजले नवौं नम्बरमा दर्ता गराएका हुन् । सबैभन्दा पहिले उम्मेदवार दिनेमा स्वतन्त्रका कमलजंग कुँवर हुन् ।

यसैगरी, साझा पार्टीबाट रजनी केसी, राप्रपाबाट रोमबहादुर भण्डारी, काँग्रेस (वीपी)बाट चन्द्रबहादुर रानाभाट, नेकपा (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गजेन्द्र संबो लिम्बु, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह छन् । उम्मेदवार दिने लिम्बु, घले र शाहको नाम समानुपातिकको बन्दू सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृरी रुद्र न्यौपानेले बताए । उनीहरुको उम्मेदवार भने खारेज हुनेछ ।

यस्तै ११ स्वतन्त्र उम्मेदवारमा कमलजंग कुँवर सहित उमनाथ गौतम, जमुना शर्मा, दीपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन् । उम्मेदवार दिनेमा सबैभन्दा कान्छा (वर्ष २६) स्वतन्त्रका सुनिल भुषाल छन् ।

उम्मेदवार दर्ता अघि नेकपाले पार्टी कार्यालय शान्तिवनबाटिकाबाट जुलुससहित राष्ट्रबैंकचोकस्थित निर्वाचन कार्यालय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।
यस्तै, काँग्रेसले पोखरा सभागृहबाट ¥याली निकालेको थियो । काँग्रेसले उम्मेदवार दर्ताको अघिल्लो दिनमा टिकट टुंगो लगाएको हो । पोखरामा भएको चुनावी सभामा बोल्दै प्रमुख वक्ता थिए काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पौडेललाई उम्मेदवार दिएसँगै पार्टीभित्रको गुट अन्त्य भएको दाबी गरे । उनले भने, ‘यो निर्णयले पार्टीभित्रको गुटबन्दी र अन्तर्घात पनि अन्त्य भएको छ । केन्द्र सुध्रिने प्रयासमा छ, गुटबन्दी र अन्तर्घातलाई निरुत्साहन र अन्त्य गर्ने प्रयास गरेको छ । अबको काम र जिम्मेवारी तपाईंहरुमाथि छ ।’

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि सो क्षेत्र रिक्त रहन गएको हो
अघिल्लो चुनावमा स्व. अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । तत्कालीन विवेकशील साझा पार्टी तेश्रो भएको थियो । तत्कालीन समयमा प्रत्यक्षतर्फ १३ उम्मेदवार रहेकोमा समानुपातिकतर्फ २० राजनीतिक दल सहभागी थिए ।

७० हजार ६ सय ५१ मतदातामध्ये अघिल्लो चुनावमा ४९ हजार ९ सय मत खसेको थियो । कास्की २ मा पोखराका ११ वटा वडा पर्दछन् । चुनावमा यसपालि कुल ७१ हजार ८ सय ७१ मतदाता छन् ।


You might also like
Loading...