चीनले सुरु गर्‍याे सिक्स जीको अनुसन्धान





देशव्यापी रुपमा फाइभ जी नेटवर्कको सुरुआत गरेको भोलिपल्टै चीनले छैटौँ पुस्ताको टेलिकम प्रविधि सिक्स जीको अनुसन्धान सुरु गरेको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार वायरलेस सूचना प्रविधिको आविष्कारलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ चीनले सिक्स जी को अनुसन्धान सुरु गरेको हो ।




चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित हुने साइन्स एण्ड टेक्नोलोजी दैनिक पत्रिकाका अनुसार यो हप्ता सरकारका मन्त्रालय तथा अनुसन्धान संस्थाहरुबीच बैठक बसेर सिक्स जी प्रविधिको अनुसन्धान तथा विकास गर्नका लागि एउटा समूह स्थापना भएको छ ।

पछिल्लो समयमा अल्ट्रा फास्ट मोबाइल सेवा सम्बन्धी प्रविधिहरुको विषय (हुवावेको फाइभ जी प्रविधि) चीन र अमेरिकाबीचको द्वन्दको मूख्य कारण बनिरहेको सन्दर्भमा चीनको पछिल्लो घोषणालाई निकै महत्वपूर्ण रुपमा लिइएको छ ।

विश्वका विकशित देशहरु फाइज जी नेटवर्क सुरु गर्न तछाडमछाड गरिरहेका छन् । सेल्फ ड्राइभिङ कार तथा अग्मेन्टेड रियालिटी जस्ता नयाँ प्रविधिहरु सपोर्ट गर्नुका साथै फोर जी भन्दा २० गुणा तिव्र गतिको फाइभ जी वायरलेस नेटवर्कले इन्टरनेट जगतमा नयाँ यूगको सुरुवात गर्ने दाबी गरिएको छ ।

गत अप्रिल महिनामै दक्षिण कोरियाले अमेरिका र चीनलाई पछि पार्दै विश्वको पहिलो व्यवसायिक फाइभ जी टेलिकम नेटवर्कको सुरुआत गरेको घोषणा गरेको थियो । तर अमेरिकी टेलिकम प्रदायकहरुले दक्षिण कोरियाको त्यो दाबीलाई खारेज गरेका थिए ।

विश्वमा फाइभ जी प्रविधिको विस्तारमा सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको चीनको हुवावेविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएपछि विश्वका कतिपय देशहरुले फाइभ जी नेटवर्क विस्तारमा हुवावेसँगको सहकार्यबाट पछि हट्ने संकेत गरिसकेका छन् । अमेरिकाले हुवावेमाथि चीनका लागि जासूसी गरेको आरोप लगाउने गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमै एक ट्वीट गर्दै अमेरिकामा छिट्टै नै सिक्स जी प्रविधिको विकास होस् भन्ने आफूले चाहेको र यसका लागि अमेरिकी कम्पनीहरु अगाडि बढ्नुपर्ने बताएका थिए । एजेन्सीको सहयोगमा




सम्बन्धित
Loading...