‘महाकालीदेखि पूर्व नेपाल, पश्चिम भारत हो अरु मान्य छैन’: प्रचण्ड


चितवन । पूर्व प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि मिचेर भारतले बनाएको नक्सा कुनै हालतमा मान्य नहुने बताएका छन् ।




नेकपा भरतपुर महानगर वडा कमिटीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले महाकालीदेखिको पूर्वको भूभाग सबै नेपालको भएको बताए । अध्यक्ष प्रचण्डले भने–‘महाकालीदेखी पूर्व नेपाल, पश्चिम भारत हो, अन्य कुरा मान्य छैन ।’

१८१६ को सुगौली सन्धी, त्यसपछिका चिठीपत्र र सुगौली सन्धीपछि छापिएका औपचारिक र वैधानिक नक्साले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकोले सोही अनुरुप अघि बढ्नुपर्ने बताए । प्रचण्डले भने–‘सुगौली सन्धीले महाकाली नदी नै सीमा भनेको छ, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।’




सीमा विवादको विषयमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको भन्दै प्रचण्डले नेपाली गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक समय आएको बताए । उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्ने बताए । यस्तै अध्यक्ष प्रचण्डले यसअघि पराजित भोगेको स्थानामा हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेद्वारले जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले भने–‘पहिले नजितेको ठाउँमा अहिले जित्ने संभावना छ, त्यसका लागि हामी एकतावद्ध भएर रात दिन खट्न पर्‍यो ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत पार्टीका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका सबै वडा कमिटिका पदाधिकारीहरुलाई अध्यक्ष प्रचण्डले शपथ ग्रहण गराएका थिए ।




सम्बन्धित
Loading...