एमसीसीका कप्तानले भने– सेतो बलमा नेपाल बलियो रहेछ

पारस र सन्दीपले नेपाली क्रिकेटको बाटो बनाउन सक्छन्’


काठमाडौं । नेपाल भ्रमणमा आएको मेरिलेबोर्न क्रिकेट क्लब (एमसीसी) का कप्तान जिम्मी एडम्सले नेपाली क्रिकेट टोलीको प्रशंसा गरेका छन् । एमसीसीले हालै नेपालको टिमसँग दुई टी–२०, एउटा एक दिवसीय र एउटा तीन दिवसीय म्याच खेलेको थियो ।




ईंग्लिस क्लब ह्याम्सायरका पूर्वकप्तान समेत रहेका एडम्सले नेपाल खासगरी ‘सेतो बल’ (सीमित ओभरको क्रिकेट) मा अब्बल देखिएको बताए । अफगानिस्तानलाई पछ्याउँदै नेपालले विश्व क्रिकेटमा आफ्नो बलियो उपस्थिति जनाउनसक्ने उनको आकलन छ




क्रिकइन्फोसँगको कुराकानीमा एडम्सले नेपालका दुई चर्चित खेलाडीहरू पारस खड्का र सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई बाटो देखाउन सक्ने बताए । उनले भने, ‘यी दुईले सिर्जना गर्ने लिगेसीमा टेकेर नेपाली क्रिकेट माथि उक्लिन सक्छ ।’

एमसीसीले नेपालको राष्ट्रिय टिमविरुद्ध दुईवटा म्याच (एउटा एकदिवसीय र अर्को तीन दिवसीय) खेलेको थियो भने यू–१९ टिमविरुद्ध एउटा टी–२० खेलेको थियो । यसैगरी राष्ट्रिय खेलाडी र युवा खेलाडी सम्मिलित टिमविरुद्ध पनि एउटा टी–२० खेलेको थियो । एकदिवसीय म्याच नेपालले जितेको थियो भने बाँकी एमसीसीले ।

खेल हेर्न आएका दर्शकलाई ईंगित गर्दै एडम्सले भने, ‘दर्शकहरूको उत्साह गज्जबको थियो । हामीले आफ्नो देशमा चार दिवसीय म्याच खेल्दा केही सय दर्शक हुन्छन्, तर यहाँ ४ हजारभन्दा बढी भए ।’

रातो बल (तीन दिवसीय म्याच) मा भने नेपाली टोली अलि कमिजोर देखिएको उनले बताए । उनी भन्छन्, ‘मलाई उनीहरूको टिमको गहिराइ र त्यहाँको क्रिकेट संरचनाबारे त्यति थाहा छैन । तर टी–२० र एक दिवसीयमा उनीहरूको प्रदर्शन हेर्दा नेपाल भोलि अफगानिस्तानकै बाटोमा गयो भने आश्चर्य मान्दिनँ ।’

एडमले नेपालको यू–१९ टिमका तीन खेलाडीका रूपमा रीत गौतम, लोकस बम र खड्क बोहरा भविष्यमा राष्ट्रिय टिमका स्टार बन्न सक्ने भविष्यवाणी गरेका छन् ।

एमसीसीका म्यानेजर रिचार्ड ग्रेटोरेक्सले पनि नेपालको स्तर आफूले सोचेभन्दा माथि पाएको बताए । उनले भने, ‘नेपालको यू–१९ र राष्ट्रिय टिमका खेलाडीहरूको उत्साहले निकै प्रभावित तुल्यायो ।’

उनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमार्फत पनि नेपाली टिमले आफ्ना खेलाडीहरूको स्तर अभिवृद्धि गर्न सक्ने बताए । सन्दीपले विश्वस्तरमा आफ्नो नाम बनाइसकेको भन्दै ग्रेटोरेक्सले भने, ‘अब पारस पनि आबुधावीमा टी–१० लिग खेल्न गइरहेका छन् । मलाई लाग्छ कि आगामी तीनदेखि पाँच वर्षमा अरू पनि ३–४ जना नेपाली खेलाडी त्यो लेभलमा पुग्नेछन् । उनीहरूसँग प्रतिभा, इच्छाशक्ति र उत्साह छ । अलिकति पूर्वाधारको खाँचो छ ।’




सम्बन्धित
Loading...