शिक्षकको कुटाईबाट विद्यार्थी घाइते
विराटनगर ४ राजवंशी चौकस्थित अर्पण स्कुलका एक शिक्षकको कुटाईबाट विद्यार्थी घाइते भएकी छिन् ।
अर्पण स्कुलका संचालक रहेका शिक्षक निमेष बस्नेतले पाइपले कक्षा ८ मा अध्ययनरत मोरङ बुढीगंगा गाउँपालिका २ टंकीसीनवारीकी १४ वर्षीय रोश्नी भण्डारीलाई कुटपिट गरेका हुन् ।
स्कुलले लिएको दोस्रो सेमिस्टरको परीक्षामा फेल भएको र नियमित स्कुल नआएको भन्दै हिजो दिउँसो शिक्षक बस्नेत विद्यार्थीलाई धाराको पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाइ छ ।
शिक्षकले पाइपले कुटपिट गर्दा विद्यार्थी भण्डारीको शरीरको पछाडिको भागमा गहिरो चोट लागेको रोश्नीकी आमा पुष्पा भण्डारीले बताइन् ।
परीक्षामा रोश्नीले विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै शिक्षक बस्नेतले कक्षा कोठादेखि बाहिर निकालेर पाइपले कुटपिट गरेको उनका साथीहरुले बताएका छन् ।
यस अघि पनि शिक्षक बस्नेतले पटक पटक विद्यार्थीमाथि कुटपिट गर्ने गरेको विद्यार्थीहरूको आरोप छ ।
पीडितका आफन्तले निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिने तयारी गरेका छन् ।
अभिभावकले कुटपिटबाट पीडित भएकी बालिकाको स्वास्थ्य परीक्षण र उपचार कोसी अस्पतालमा गराएका छन् ।