लता मंगेस्करको मृत्युको झुटो समाचार सामाजिक सञ्जालमा भाइरल

167







भारतकी सर्वश्रेष्ठ पाश्र्व गायीका लता मंगेस्करको मृत्युको भ्रामक समाचार यतिबेला फेसबुक, ट्विटरलगायत विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, उनी जीवित रहेको र सुधारोन्मुख अवस्थामा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


सास फेर्न गाह्रो भएपछि ११ नोभेम्बरमा उनलाई मुम्बईस्थित ब्रिच केन्डी हस्पिटलमा भर्ना गरिएको थियो । उनको मृत्यु भएको भ्रामक समाचार भाइरल भएपछि विज्ञप्ती जारी गरेर त्यसको खण्डन गरिएको हो ।

उनको अवस्था सुधारोन्मुख रहेपनि पूर्णरुपमा ठिक हुन केही समय लाग्ने अस्पतालले बताएको छ । ९० वर्षिया मंगेस्कर हाल अस्पतालको आर्ईसीयू कक्षमा उपचाररत छिन् ।

‘लता दि’को अवस्था सुधारोन्मुख रहेको छ । कृपया यस्ता भ्रामक समाचार फैलाउन काम नगर्नुहोस् । बरु सबैजना मिलेर वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरौं,’ विज्ञप्तीमा भनिएको छ ।

‘वहाँले धेरै लामो समयदेखि गीत गाइरहनु भएकाले फोक्सोमा केही समस्या देखिएको छ । तर, वहाँ कुशल योद्धा हो । स्वास्थ्यविरुद्धको यो लडाई वहाँले जित्नु हुनेछ । वहाँ डिस्चार्ज भएर घर फर्किएपछि तपाईहरुलाई थप जानकारी दिने छौं,’ पारिवारिक स्रोतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मंगेस्करले सन् १९४२ देखि व्यावसायिक रुपमा गीत गाउन थालेकी हुन् । ७७ वर्षदेखि निरन्तर सक्रिय रहेपनि पछिल्लो समय बढ्दो उमेर र बिग्रदो स्वास्थ्यका कारण उनले फुटकर गीत मात्र गाइरहेकी छिन् ।

उनले स्वर दिएको हिन्दी गीतको पूर्ण एल्बम २००४ को ‘वीर–जारा’ थियो । याश चोपडाद्वारा निर्देशित सो चलचित्रका सबै गीत सुपरहित भएका थिए ।

मंगेस्करले हालसम्म ३६ भन्दा बढी स्थानीय तथा विदेशी भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छिन् । उनले नेपाली गीतमा समेत स्वर दिएकी छिन् ।

‘नाइटेङ्गल अफ बलिवुड’ उपनाम पाएकी लता मंगेस्करले गीतसंगीतका क्षेत्रमा पुर्‍याएको अतुलनिय योगदानका लागि भारतमा सर्वसाधारणले पाउने सबैभन्दा ठूलो विभुषण ‘भारत रत्न’ले समेत विभुषित गरिएको थियो ।


You might also like
Loading...