सीमा सुरक्षाका लागि नेपाली सेनामा अलग्गै संरचना





नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन गर्न एउटा निर्देशनालयले कार्य प्रारम्भ गरेको जनाएको छ।

गत वर्षको रक्षामन्त्रीस्तरीय निर्णयका आधारमा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।




भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाल, भारत र चीन नजिकैको त्रिदेशीय विन्दुमा रहेको कालापानीलाई भारतमा राखेपछि उत्पन्न परिस्थितिबीच सेनाले तीन महिनाअघि आफ्नो सीमा अनुगमन संयन्त्र गठन भएको जनाएको हो। हाल नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको छ।

अघिल्लो साल फाल्गुनमा रक्षामन्त्री ईश्वर पोखरेलको तहबाट भएको निर्णयमा राष्ट्रिय सुरक्षासम्बन्धी दुइपक्षीय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, नक्सा एवम् अन्य महत्वपूर्ण दस्तावेजहरूको संरक्षण तथा अनुसन्धानलाई प्रवर्धन गर्न अनुसन्धान केन्द्र बनाउन नेपाली सेनालाई निर्देशन दिइएको थियो।

त्यसकै आधारमा गएको चैत्रमा रक्षा मन्त्रालयले नेपाली सेनालाई पत्राचार गरेको थियो जसलाई टेकेर हालै सीमाको सर्भे र अनुगमनको जिम्मेवारी दिएर निर्देशनालयलाई सञ्चालनमा ल्याइएको सेनाको भनाइ छ। सहायक रथीको नेतृत्वमा रहने उक्त निकायको दरबन्दी र जिम्मेवारी सहितका विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्न भने बाँकी छ।

सेनाको समग्र सङ्गठनात्मक सुधार सहितको प्रस्तावसँगै यस विषयको जानकारी सरकारलाई बुझाउने पाण्डे बताउँछन्। उनले भने, “अहिले हामीले काम सुरु गर्न एक जना ब्रिगेडियर जनरललाई जिम्मेवारी दिएर निर्देशनालयलाई अघि बढाएका छौँ।”

“यस मातहतमा तीनवटा शाखा राख्ने र लगभग ६० देखि ७० जना जनशक्ति खटाउने अनि सीमा सुरक्षा सम्बन्धी सेनाको मूल इकाइका रूपमा विकास गर्दै लैजाने हाम्रो सोचाइ छ।”




सम्बन्धित
Loading...