नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउँछौंः पर्यटन मन्त्री (भिडियो सहित)

शोभा जिसी –
नवलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने दावी गरेका छन् ।
अहिले नेपालमा हरेक बर्ष सरदर १२ लाख पर्यटक भित्रिएको बताउँदै उनले नेपाल भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने दावी गरेका हुन् ।
शनिबार नवलपरासीको कावासोतीमा कावासोती नगरपालिका र तराई भुपरिधि कार्यक्रमको सहयोगमा निर्मित मुसहर सुरक्षित आवास तथा होमस्टे उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल भ्रमण बर्षलाई लक्षित गरी नेपालमा सञ्चालित होम स्टेहरुले विदेशी पर्यटकलाई पनि रोक्न सक्ने खाले होम स्टेलाई स्तर वृद्धि गर्नु पर्नेमा जोड दिए ।
उनले होम स्टे सञ्चालकहरुले होम स्टेको नाममा बाहिरबाट आयात गरिएका सामग्रीहरु राख्ने भएको त्यस्तो गर्दा होम स्टे प्रतिको आकर्षण घट्ने बताउँदै भने – होम स्टे स्थानीय स्तरमा उत्पादित वस्तु, स्थानीय स्तरमा उत्पादिन खाद्य, स्थानीय स्तरमा उत्पादिन पेय पदार्थहरु नै पाहुनालाई दिनु पर्दछ । त्यसले हाम्रो मौलिकता बढाउँछ । स्थानीय आम्दानीलाई बढाउँदछ ।
कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेश सांसद रोशनबहादुर गाहा, कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया लगायतले बोलेका थिए ।
कार्यक्रममा मन्त्री भट्टराईले गौतमबुद्ध विमान स्थल सन् २०२० मा अन्तराष्ट्रिय विमान स्थलको रुपमा सञ्चालन हुने भएकोले गौतमबुद्ध विमान स्थल अन्तराष्ट्रिय विमान स्थलको रुपमा सञ्चालनमा आएपछि यस क्षेत्रमा विदेशी पर्यटकहरु बढ्ने बताए ।
https://www.youtube.com/watch?v=xsHvFAj6Ls4