मधेसी जनताको मुक्तिका लागि वर्गीय र जातीय मुक्ति आन्दोलनलाई सँगसँगै लैजानुपर्छ: वैद्य

208







जनकपुर । पार्टी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले मधेसी जनताको मुक्तिका लागि वर्गीय र जातीय आन्दोलनलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ । जनकपुरको गोपाल धर्मशालाको हलमा आयोजित मोर्चाको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव किरणले नयाँ जनवादी क्रान्तिले मात्र मधेसी जनतालाई वास्तविक अर्थमा मुक्ति दिलााउने दावी गर्नुभयो । त्यसका लागि नयाँ जनवादी क्रान्तिमा मधेसी जनताको महत्वपूर्ण भूमिका रहने पनि बताउनु भयो ।


पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलको विशेष उपस्थिति रहेको शनिबार दिउसोबाट सुरु भएको मोर्चाको भेला आइतबार सम्पन्न भएको छ । भेलाले विरेन्द्र यादवको नेतृत्वमा २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । जसमा अध्यक्ष विरेन्द्र यादव, उपाध्यक्ष पी पटेल, महासचिव जितेन्द्र सिंह, सविच सुधिर मण्डल (मोरङ), कोषाध्यक्ष मोहिपतलाल मौरिया (बाँके) लगायत रहेका छन् । निर्वाचित कमिटिलाई पार्टी महासचिव किरण, प्रवक्ता प्रतीक, पार्टी प्रदेश सेक्रेटरी रमेश लगायतका नेताहरुले बधाई दिएका थिए ।

भेलाले एउटा समसामयिक प्रस्ताव समेत पारित गरेको छ । जसमा भारतीय विस्तारवादले कालापानी क्षेत्रमा गरेको अतिक्रमणको कडा विरोध गर्दै उक्त भूमि फिर्ता गराउन अविलम्ब कुटनीतिक पहल अगाडि बढाउन सरकारसित जोडदार माग गरेको छ । र, सशक्त प्रतिरोध आन्दोलन अगाडि बढाउने घोषणा गरेको छ । मोर्चाले महंगी, भ्रष्टाचार, कालाबजारीलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर सशक्त आन्दोलन अगाडि बढाउने समेत उल्लेख गरेको छ ।

त्यसैगरी भारतसँग गरिएका सन् पचास लगायत सबै असमान सन्धि सम्झौताको खारेजीका लागि संघर्र्ष गर्ने र सामाजिक, राजनीतिक, कुटनीतिक, साँस्कृतिक लगायतका क्षेत्रमा समेत भएको भारतीय हस्तक्षेपको जोडदार विरोध गर्ने, मधेसी जनतामाथि राज्यको भेदभावपूर्ण नीतिको विरोध गर्ने, पहाडीया अहंकारवादको विरोध गर्ने र वास्तविक पहिचानसहितको संघीयताका लागि संघर्ष गर्ने लगायतका विषयहरु अगाडि सारिएको छ ।
वर्गीय र जातीय मुक्ति आन्दोलनलाई सँगसँगै अगाडि बढाउन पनि मोर्चाले संघर्षको आवश्यकतामाथि जोड दिएको छ । ‘आत्मनिर्णयको अधिकार, मधेसी मुक्तिको आधार’ भन्ने मूल नाराका साथ आयोजित भेलाले संगठन विस्तारलाई व्यापक बनाउने समेत निर्णय गरेको छ ।


You might also like
Loading...