श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिको ट्विट– बुद्ध जन्मस्थल नेपाल हाम्रो मुटुमा छ
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।
राष्ट्रपति निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन्
नेपाल सार्कको अध्यक्ष मुलुक हो । राजापाक्षले भनेका छन्–भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।
I thank PM @kpsharmaoli for your warm wishes. Nepal holds a special place in #LKA hearts, being the birth place of Lord Buddha. I will endeavour to foster peaceful coexistence and economic progress within #SAARC region and look forward to an early opportunity to meet https://t.co/8N3SNkWjiJ
— Gotabaya Rajapaksa (@GotabayaR) November 18, 2019
श्रीलंकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ पूर्वरक्षामन्त्री गोतावायाले चुनाव जितेका थिए । बुद्धमार्गी उनले यसअघि बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणसमेत गरेका थिए ।
सोमवार प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाइ दिँदै आफू घनिष्ट सहकार्यका लागि इच्छुक रहेको बताएका थिए ।