नवनियुक्त मन्त्रीको सपथ ग्रहण ११ बजे


नवनियुक्त मन्त्रीहरूले आज सपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रिपति कार्यालयका अनुसार आज(बिहीबार) बिहान ११ बजे राष्ट्रिपति कार्यालय शितलनिवासमा उनीहरूको पद तथा गोपनीयताको सपथ ग्रहण हुने भएको हो ।




प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र तीन राज्यमन्त्री फेरबदल गरेका छन् । राष्ट्रपति कार्यालयका सूचना अधिकारी श्रीधर गौतमका अनुसार नवनियुक्त भएका मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गर्नेछन् ।

बुधबार प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीसमक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेका थिए ।




सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा कानुनमन्त्री भानुभक्त ढकाललाई लगिएको छ।

उप–प्रधानमन्त्री यादवको पार्टीले यसअघि पाएको स्वास्थ्य राज्यमन्त्रीसमेत खोसिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा नेकपाबाट सुर्खेत क्षेत्र नम्बर २ का सांसद नवराज रावतलाई नियुक्त गरिएको छ ।

नयाँ मन्त्रीका रूपमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्त नेम्बाङ र पार्वत गुरुङ छन्। मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री र रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।




सम्बन्धित
Loading...