मन्त्रिपरिषद् पुनर्गठन : बाबुराम आगो, प्रभु साह लज्जित

161







प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति गरेको मन्त्रिपरिषद् पुनर्गठनप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले असन्तुष्टि व्यक्त गरेका छन् । समाजवादी पार्टी नेपालका संघीय अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय खोसिएको प्रति आपत्ति जनाएका छन् ।

उनले छापामार शैलीमा मन्त्रालय फेरिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीको कार्यशैली स्वेच्छाचारी र निरंकुश भएको बताए । संसदीय व्यवस्थामा प्रधानमन्त्री अधिकारसम्पन्न भए पनि सत्ता साझेदारसँग समन्वय नगरी मन्त्री हटाउनु र मन्त्रालय फेर्नु अलोकतान्त्रिक शैली भएको बताए ।


उनले मन्त्रिपरिषद् पुनर्गठन आफूसँग सल्लाह भएको नभई मिडियामा खबर आएपछि मात्र जानकारी भएको बताए । संविधान संशाेधनको सर्तमा सरकारसँग सहकार्य भए पनि सरकार सहमतिप्रति गम्भीर नदेखिएको आरोप लगाए । बुधबार साँझ भएको मन्त्रिमण्डल हेरफेरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुनमन्त्री बनाइएको छ। कानुनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रभु साह लज्जित !

सत्तारुढ नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहले सरकारको निर्णयले लज्जित बनाएको बताएका छन् । सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै साहले लेनदेनका आधारमा मन्त्रिरिषद् पुनर्गठन गरिएको आरोप लगाए ।

कार्यसम्पादनका आधारमा पुनर्गठन गर्ने भनिए पनि गटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्री फेरिएको भन्दे असन्तुष्टि पोखेका छन् । उनले हाल नियुक्त गरिएका नयाँ मन्त्रीहरू अयोग्य भएको आरोप पनि लगाएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनपछि अध्यक्ष साहले फेसबुकमा लेखेका छन्, ‘कार्यसम्पादन को आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।

योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान् कार्यले हामी फेरि एकचोटि लज्जित भएका छौं ।’


You might also like
Loading...