पार्टीमा घनश्याम, सरकारमा प्रदीप वरिष्ठ

प्रदेश १ ले पायो ६ मन्त्री, कर्णालीबाट जम्मा एक जना

262







प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपाका नेता घनश्याम भुसाललाई नवौं वरीयतामा राखेको छ ।

तत्कालीन एमालेका उपमहासचिव भुसाललाई उनीभन्दा जुनियर एमालेबाट सचिवमा निर्वाचित प्रदीप ज्ञवालीभन्दा तल राखिएको छ । मन्त्रिपरिषद्को वरियताको पाँचौं नम्वरमा ज्ञवाली छन् ।


नेकपाको कुनै पनि पार्टी कमिटीमा नरहेका सूर्य चुनाव चिन्ह लिएर २०७४ सालको संघीय निर्वाचनमा सांसद जितेका हृदयेश त्रिपाठीलाई मन्त्रिपरिषद्को छैठौं बरियतामा राखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

विहीबार मन्त्रिपरिषद्का सदस्यको हेरफेर गर्दा नयाँ मन्त्रीको रुपमा आएका लेखराज भट्टलाई वरियताको ११औं नम्वरमा राखिएको छ । तर, तत्कालीन नेकपा एमालेका सचिव योगेश भट्टराईलाई भने बरियताको १२औं नम्वरमा राखिएको छ । भट्टराईका समकालिन प्रदीप ज्ञवाली भने मर्यादाको पाचौंमा छन् ।

२०७४ को संघीय निर्वाचनको मुखमा तत्कालिन लोकतान्त्रिक फोरमको वरिष्ठ उपाध्यक्ष छोडेर तत्कालीन माओवादीमा प्रवेश गरेका रामेश्वर राय यादव २५ सदस्यीय मन्त्रिपरिषद्को १४औं बरियतामा छन् । २०५१ सालको प्रतिनिधिसभाको कार्यकालमा सद्भावना पार्टीबाट विद्रोह गरेका हृदयेश त्रिपाठी र राय मन्त्री भएका थिए ।

मन्त्रिपरिषद्मा आएका नयाँ अनुहार बसन्तकुमार नेम्वाङ र पार्वत गुरुङलाई मन्त्री विना मगर, गोकुल बाँस्कोटा, पद्मा अर्यालभन्दा पछि अर्थात वरियताको २१औं र २२ औं नम्वरमा राखिएको छ ।

यसअघि मन्त्रिपरिषद्मा मन्त्री पद्मा अर्याल भन्दा बरियतामा अघि रहेकी मन्त्री बीना मगर यसपटक अर्यालभन्दा पछि छिन् । पहिले बीना २१ र पद्मा २२औं मर्यादाक्रममा थिए । यसपटक भने पद्मा १९औं र बीना २०औं नम्वरमा परेका छन् ।

मर्यादाक्रममा २५औं अर्थात सबैभन्दा पुच्छरमा शहरी विकासमन्त्री रामबीर मानन्धरलाई ल्याइएको छ । मानन्धरको मन्त्रालयमा समाजवादीका सांसद इस्तियाक राइ मन्त्री छन् । त्यस्तै यसअघि स्वाथ्यमन्त्री भएका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश १ बाट ६ जना कर्णालीबाट एक मात्र

विहीबार पुनर्गठन भएको मन्त्रिपरिषद्मा प्रदेश एकबाट मात्र छ जना मन्त्री भएका छन् भने कर्णाली प्रदेशबाट शक्ति बस्नेत मात्र मन्त्री बनेका छन् ।

प्रधानमन्त्री ओली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटन मन्त्री योगेश भट्टराई, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड प्रदेश १ बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै प्रदेश २ बाट उपप्रधानमन्त्री उपेन्द्र यादव, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, श्रम मन्त्री रामेश्वर राय यादव मन्त्री भएका छन् । प्रदेश ३ बाट पाँच जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ मा पाँच जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना मन्त्री भएका छन् ।

आठ प्रतिशत महिला

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा आठ प्रतिशत महिलाको मात्र प्रतिनिधित्व भएको छ । विहीबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा एक जना पनि महिला सांसदलाई समावेश गरिएको छैन ।

भूमि व्यवस्था मन्त्री पद्माकुमार अर्याल र खानेपानी मन्त्री बीना मगर मात्र महिला मन्त्रिपरिषद् सदस्य हुन् । यसअघि थममाया थापा मन्त्री र रामकुमार चौधरी राज्यमन्त्री थिए । उनीहरुलाई पनि मन्त्रिपरिषद्बाट हटाइएपछि मन्त्रिपरिषदमा आठ प्रतिशत मात्र महिलाको प्रतिनिधित्व छ ।

संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ ।


You might also like
Loading...