गाउँमा पुग्दैन सहुलियत दरको चामल


नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत दुर्गमका गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै हराउने गरेको पाइएको छ।




हुम्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र नेपाल खाद्य संस्थान मुगुको गमगढी वितरण केन्द्रबाट पठाइएको खाद्यान्न सम्बन्धित स्थानमा नपुगेको पाइएको छ।

खाद्य संस्थानको सहुलियत दरको खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरुले सम्बन्धित वितरण केन्द्रमा खाद्यान्न नपुर्‍याएको स्थानीयहरुको आरोप छ।

खाद्यान्न नआएपछि स्थानीयहरु खाद्यान्न जोहो गर्न मुगुको सोरु गाउँपालिका–८ मा रहेको तारापानी बजार र गमगढीमा पुग्ने गरेका छन्। स्थानीयले हप्तौं लगाएर मुगु सदरमुकाम गमगढी र आसपासका बजारमा पुगेर भेडा–च्याँग्रालाई खाद्यन्न बोकाएर ल्याउँदै आएको छन्।

नेपाल खाद्य संस्थानको सर्केगाड डिपोबाट वर्षमा मुस्किलले एकपटक ३० किलोको एक प्याक चामल मात्र पाउने गरेको त्यस क्षेत्रका नागरिकको गुनासो छ। सर्केगाड गाउँपालिका–३ उनपानीका दिलबहादुर फडेरा दशैं–तिहारमा समेत ठेकेदारले चामल नल्याएपछि सात दिन लगाएर मुगुको सोरु गाउँपालिका–८ को तारापानी बजारबाट ल्याएको बताउँछन्। सर्केगाड वितरण केन्द्रमा १५ सय रुपैयाँ पाउने चामल उनले १ हजार ६८० रुपैयाँमा खरिद गरेको बताए। बाटो खर्च सबै जोड्दा उक्त चामलको मूल्य करिब तीन हजार ५०० रुपैयाँ पुगेको दिलबहादुरले भनाइ छ।

खाद्य संस्थान मुगुले सर्केगाडका लागि एक हजार क्विन्टल खाद्यान्न पठाउने मुगुका प्रमख कर्णबहादुर रावतले बताए। जनताले पाएको भन्ने विवरण विवरण आएपछि ढुवानी रकम ठेकेदारले बुझेर लिँदै आएका छन्। तर, गाउँमा खाद्यन्न नपुगेको स्थानीयको गुनासो छ।

‘सरकारले चामल पठाउछ भन्छन्,’ दिलबहादुरले भने, ‘तर खाद्य संस्थानको सर्केगाड डिपोमा पुग्दा जहिले पनि रित्तो हात फर्किनु परेको छ।’

चालु आर्थिक वर्षमा हुम्लाको सर्केगाडका लागि सुर्खेतबाट नै एक हजार क्विन्टल चालम ढुवानी गर्ने भनिए पनि ठेकेदार नआउँदा ढुवानी नभएको खाद्य संस्थान मुगुका प्रमुख रावतले बताए।

यता ठेकेदार ओम जय दुर्गी जनरल अडर सप्लायर्सका दुर्गबहादुर बुढाले गमगढीदेखि सर्केगाडसम्म एक हजार क्विन्टल खाद्यन्न ढुवानी गर्ने जिम्मा पाएको र केही दिनमा ढुवानी सुरु हुने बताउँछन्।

समयमै चामल ढुवानी नहुँदा मुगु जिल्लामा डिपो पनी खाली छन्। मुगुका सोरु कोट, पुलु, रातापानी, श्रीकोट डिपो चामल नहुँदा खाली छन्।




सम्बन्धित
Loading...