विवाह महोत्सवमा सहभागी हुन भारतबाट हिड्यो जन्ती

298







रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको आयोध्याबाट आज जन्ती नेपालतर्फ हिँडेका छन् । यही १५ गते मनाइने विवाह महोत्सवमा सामेल हुन् उनीहरु अयोध्याबाट जनकपुरधामका लागि हिँडेका हुन् ।

बिहीबार साँझ अयोध्याबाट हिँडेका जन्ती मंसिर १२ गते साँझसम्म जनकपुर आइपुग्नेछन् । जन्तीटोली बनारस, विहारको बक्सर, पटना, मुजफ्फरपुर, सीतामढी हुँदै जनकपुरसम्म पुग्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।


विवाह पञ्चमीमा हरेक पाँच वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने परम्परा छ । यसपटक पनि पाँच वर्ष पूरा भएकाले विवाहोत्सवमा सहभागी हुन अयोध्यासहित भारतको विभिन्न स्थानबाट साधुसन्त तथा मठाधीशको रूपमा विशेष जन्ती आउन लागेको दासले बताए ।

विवाह पञ्चमीमा जन्तीको रूपमा पाँच सय जना विशिष्ट पाहुनाहरू जनकपुर आउँदैछन् । अयोध्याबाट आउने जन्तीलाई जनकपुर प्रवेश गर्ने नाकामा भव्य स्वागत गर्ने तयारी रहेको उनले बताए ।

राष्ट्रपतिदेखि भण्डारी र भारतीय गृहमन्त्रीलाई निम्तो
रामजानकी विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूलाई निम्तो पठाइएको छ । विवाह पञ्चमीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाई निम्तो पठाइएको मन्दिर प्रशासनले जनाएको छ ।

जानकी मन्दिरका महन्थले विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति, प्रधानमन्त्रीका साथै भारतका गृह र रक्षामन्त्रीलाई निम्तो पठाए पनि आउनेबारे टुंगो नलागेको बताए । विवाहोत्सवमा आउने विशिष्ट पाहुनाबारे एकदुई दिनभित्र अन्तिम टुंगो लागिसक्ने उनको भनाइ छ ।

महोत्सवको तयारी तीव्र

रामजानकी विवाहोत्सवमा हरेक वर्ष नेपाल तथा भारतका हजारौं श्रद्धालु जनकपुर आउँछन् । धेरै पाहुनाहरू आउने भएकाले तयारीलाई तीव्र बनाइएको छ । विवाह पञ्चमीलाई सफल बनाउन विभिन्न उपसमिति बनाएर काम भइरहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाएका छन् ।

भारतको सर्वोच्च अदालतले अयोध्यास्थित रामलिला स्थलमा राम मन्दिरको लागि जग्गा उपलब्ध गराउने निर्णयपछि यसपाली विवाह पञ्चमीको व्यापकरूपमा तयारी गरिदैँछ । गतवर्ष भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका थिए ।

‘मिथिलाको परम्परा अनुसार नै राम र सीताको विवाह हुनेछ’, दासले भने । जानकी मन्दिर र ऐतिहासिक रंगभूमि मैदान बाह्बिघामा विशेष प्रकारको मञ्च बनाई महोत्सवलाई अझ आकर्षक बनाउने जानकी मन्दिर मूल आयोजक समितिले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रम

सात दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने ‘विवाह पञ्चमी महोत्सव मंसिर १० गतेदेखि १६ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ ।
सातदिन हुने कार्यक्रम अनुसार विवाह पञ्चमी महोत्सवको पहिलो दिन मंसिर १० गते जनकपुरधाम नगर दर्शन, ११ गते फूलबारी लीला (विवाह मण्डपको फुलबारीमा), १२ गते धनुषयज्ञ (रंगभूमी), १३ गते तिलकोत्सव (राम मन्दिर प्रांगढ ), १४ गते मटकोर (गंगासागर पोखरी घाट), १५ गते स्वयंवर तथा शुभ विवाह र सातौं दिन १६ गते (रामकलेवा) राखिएको छ ।


You might also like
Loading...