चितवन र मकवानपुरमा मात्रै गरिमा धानबाट १० करोड बढी क्षति





चितवन  र मकवानपुरमा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्यांकन गरिएको छ ।  जग्गाको उत्पादन क्षमताका आधारमा १० करोड ३७ लाख २९ हजार ४ सय ८४ रुपैयाँ र उत्पादन लागतका आधारमा ७ करोड ३६ लाख ९१ हजार ३ सय रूपैयाँबराबरको क्षति मूल्यांकन गरिएको छ ।

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको समितिले दुवै जिल्लामा लगाइएको धानको क्षति मूल्यांकन गरेको हो ।




कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भने, ‘हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छाैं । क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।’

केन्द्रका बाली विकास अधिकृत माधव पौडेलका अनुसार समितिले बालीको लागत अनुमानका आधारमा, बीमा नीतिका आधारमा र उत्पादन क्षमताका आधारमा क्षति मूल्यांकन गरेको छ ।


बालीको लागत अनुमानका आधारमा ७ करोड ३६ लाख ९१ हजार ३ सय १७ क्षतिको मूल्यांकन गरिएको पौडेलले जानकारी दिए । यसमा प्रतिकट्ठा लागत मूल्य ३ हजार ६ सय ३५ मूल्यांकन गरिएको छ ।

बीमा नीतिका आधारमा ६ करोड ६३ लाख २२ हजार १ सय ८६ रुपैयाँ क्षति मूल्यांकन गरिएको छ ।  यसमा पनि प्रतिकट्ठा लागत ३ हजार ६ सय ३५ नै मूल्यांकन गरिएको छ ।

उत्पादन क्षमताका आधारमा सबैभन्दा बढी १० करोड ३७ लाख २९ हजार ४ सय ८४ क्षति मूल्यांकन गरिएको उनले जानकारी दिए । यसमा प्रतिकट्ठा ५ हजार १ सय १६ मूल्यांकन गरिएको छ ।

कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार उत्पादन क्षमताका आधारमा मकवानपुरको मनोहरी गाउँपालिकाको २ सय ७२ बिघा क्षेत्रफलको ५ हजार १ सय १६ का दरले १३ लाख ९१ हजार ७ सय ३३ बराबरको क्षति मूल्यांकन गरिएको छ ।

यसैगरी, राक्सिराङ गाउँपालिकाको ७६ बिघामा लगाइएको धानको ३ लाख ८८ हजार ८ सय ६६ क्षति मूल्यांकन गरिएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिकाको ६ हजार ४० बिघाको प्रतिकठ्ठा सोहीअनुसार ३ करोड ९ लाख ४ हजार ६ सय ६६, खैरहनी नगरपालिकाको ४ हजार १ सय ११ बिघा क्षेत्रफलको २ करोड १० लाख ३८ हजार ९ सय ८३, कालिका नगरपालिकाको १ हजार ६८ बिघाको ५४ लाख ६७ हजार १ सय ५८ रुपैयाँ क्षति मूल्यांकन गरिएको छ ।

यसैगरी, रत्ननगर नगरपालिकाको ३ हजार १ सय ३० बिघामा १ करोड ६० लाख १८ हजार ९ सय १, भरतपुर महानगरपालिकाको ३ हजार २ सय ७५ बिघाको १ करोड ६७ लाख ६१ हजार ७४ रुपैयाँ क्षति मूल्यांकन गरिएको छ ।

यस्तै, माडी नगरपालिकाको २ हजार २ सय ९८ बिघामा १ करोड १७ लाख ५८ हजार १ सय रुपैयाँ क्षति मूल्यांकन भएको छ । केन्द्रले दिएको जानकारीअनुसार समितिले उत्पादन लागत अनुमानको आधारमा पनि क्षति मूल्यांकन गरेको छ ।

मनोहरी गाउँपालिकामा २ सय ७२ कठ्ठा क्षेत्रफलमा ९ लाख ८८ हजार ७ सय १२ बराबरको क्षति मूल्यांकन गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिकाबाहेक सबै तहमा गरिमा धान लगाइएको थियो ।

सबै स्थानीय तहमा गरी नक्कली गरिमाको धानबाट २ हजार ६ सय ९० किसान यसको प्रत्यक्ष मारमा परेका छन् । दुई जिल्लामा गरी ६ सय ७५ हेक्टरमा यो धान लगाइएको थियो ।




सम्बन्धित
Loading...