भारतको ‘भ्रम’ : काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो


  • पत्रपत्रिका/अन्नपूर्ण पोष्टबाट –

 




कार्तिक १५ गते जारी नक्सा र काली नाम झिकेर हाल जारी नक्सा।

 




नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ ।

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो। लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो। सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो।

भारतले नक्सालाई उलटपुलट गर्दै नेपाली भूमि अतिक्रमण गरिरहेको छ। सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ। सन् १८५६ सम्म जारी नक्सामा काली नदीको मुहान अर्थात् लिम्पियाधुरासम्मकै भूभाग नेपाली भएको प्रस्ट थियो।

सीमाविद् पुण्यप्रसाद ओलीले भारतले नक्सा बंग्याएर नेपाली भूमि अतिक्रमण गरेको विषय नयाँ नभएको बताए। ‘भारतले सन् १८५६ देखि नै ‘कार्टोग्राफिक इन्क्रोचमेन्ट’ गर्दै आएको छ,’ उनले भने, ‘यसपछि पटकपटक नक्सा बग्ंयाउने काम भइरहेको छ।’ उनका अनुसार भारतले काली नदीलाई तीन ठाउँमा सारिसकेको छ।

सन् १९६२ मा भारत र चीन युद्धपछि तत्कालीन नेपाल सरकारकै सहमतिमा कालापानीमा भारतीय सेना बस्यो। भारतले त्यही भूभागमा छुट्टै कुलो बनाएर लिपु खोलाको पानी ल्याएर पोखरी बनायो। त्यसैबाट निकालेर कृत्रिम काली नदी बनायो। भारतले लिम्पियाधुरा क्षेत्रको ३३५ र कालापानी लिपुलेकको ६० वर्गकिलोमिटरसहित ३९५ वर्गकिलोमिटर नेपाली भूभाग कब्जा गरेको छ।

सुगौली सन्धिअनुसार नावी, कुटी, गुन्जी र गव्र्याङ गाउँ नेपालमा पर्छ। २०१८ सालमा ती गाउँको जनगणना नेपालबाटै भएको थियो। नापी विभागका पूर्वमहानिर्देशकसमेत रहेका ओलीका अनुसार नेपाल अझै चुप लगेर बसेमा १० किलोमिटरपूर्वको टिंकर खोलालाई भारतले सीमा नदी भन्न बेर लाउने छैन।

ओलीले भने, ‘जे कुरा साँचो थियो, त्यो ख्याल नगरी उसले नक्सा जारी ग¥यो। सबैले विरोध गरेपछि परिवर्तन गर्दै पुरानै नक्सा ल्याएको हो।’

नदीविज्ञ जगतकुमार भुसाल पनि भारतले गल्तीबस नक्सामा काली नदी राखेको बताउँछन्। त्यो नक्साका आधारमा ठूलो भूमि नेपालको हुने देखिएपछि रातारात भारतले अर्को नक्सा जारी गरेको उनको ठहर छ। ‘पिलर भए साथ्र्यो, नदी उचालेर सार्न सकिन्न, अनि उसले नामै सारिदियो,’ उनले भने, ‘पहिला काली लेख्यो, अहिले त्यहाँ खाली राखेको छ।’

भुसालका अनुसार भारतले कात्तिक १५ गते जारी गरेको नक्सामा ‘काली’ लेखेको नदी ‘धौली’ हो। लम्बाइका हिसाबले ‘काली’ र ‘धौली’ समान छन्। २३ वर्षअगाडि ‘काली’ र ‘धौली’ को लम्बाइ सूक्ष्म रूपले नापेको स्मरण भुसालले गरे।

‘अतिक्रमण थप बलियो बनाउन धौलीको शिरलाई कालीको शिर देखाएर नेपालीको आवाजलाई कमजोर बनाउने प्रयासस्वरुप ‘काली’ देखाएको हुन सक्छ,’ उनले भने, ‘नेपालमा कालीपूर्वको भूभाग नेपालको भएकोे र कुनै बहानामा पनि नझुक्ने आवाज गुन्जिरहेपछि सच्याए छ। तर बदमासी कायमै छ।’ उनले माथिल्लो नदीलाई काली लेख्नुपर्नेमा खाली छाडेर मिचहा प्रवृत्ति देखाएको बताए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भारतले नयाँ नक्सा जारी गरेर काली नदी गायब पारेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भारतले काली नदी पुनः गायब गरेको बताए।



सम्बन्धित
Loading...