कांग्रेस-कम्युनिस्ट असफल भइसके : कार्यवाहक अध्यक्ष तामाङ


 




राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङले नेपाललाई सनातन हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गर्न राप्रपाले मत पाउनुपर्ने जिकिर गरेका छन्।

नेता तामाङले शनिबार प्रतिनिधिसभाअन्तर्गत कास्कीको क्षेत्र नं २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू बौद्ध धर्मावलम्बी भए पनि नेपाल हिन्दु राष्ट्र भनेर हिडिरहेको तर जन्मले, कर्मले हिन्दु रहेकाहरू उदासीन भएकोमा आश्चर्य प्रकट गरेका छन्। उनले संविधानसभाले संविधान निर्माण गर्ने बेला आम जनताले सुझावको रुपमा दिएको पोको नफुकाइ संविधानमा जबरजस्ती धर्म निरपेक्ष कायम गरिएको र जनताले हिन्दु राष्ट्र हुनुपर्ने सुझाव दिएको पनि बताए। नेता तामाङले भने,’कांग्रेस र कम्युनिस्ट असफल भइसकेका छन्।


फेरि पनि असफल दललाई नै मत दिने हो भने जनताले परिणामको रूपमा असफलता नै प्राप्त गर्छन्।  त्यसैले मतदाताले सोचेर मात्र मतदान गर्नुपर्छ।’ देशमा ठूला ठूला भ्रष्टाचारका काण्ड भइरहेका छन् तर सरकार भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा संरक्षण गर्न लागिपरेको आरोप पनि नेता तामाङले लगाएका छन्। राप्रपा गण्डकी प्रदेश प्रमुख हेमजंग गुरुङले जातजातिको नाममा विभाजन ल्याउन चाहने शक्तिले अनुकूल समयमा फेरि पनि त्यो मुद्दाको पुनरावृत्ति गर्न सक्ने भएकाले जनता सचेत भएर राष्ट्रियता र राष्ट्रिय एकताको लागि एकजुट हुनुपर्ने बताए।

राप्रपाको तर्फबाट उम्मेदवार रोमबहादुर भण्डारीले जनताको सुख दुखसुखमा उम्मेदवार हुँदा पनि र नहुँदा पनि आफू अनवरत क्रियाशील भएको बताए।उनले आफ्नो कुनै निजी स्वार्थ नरहेकाले कास्कीको समग्र विकासका लागि आफू उपयुक्त र जनताको उम्मेदवार रहेको धारणा व्यक्त गरे।




सम्बन्धित
Loading...