चितवन मेडिकल कलेजको होस्टेलमा पेस्तोल; पाँच सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

655







चितवन : चितवन मेडिकल कलेजको होस्टेलबाट एक थान पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका ५ मा रहेको कलेजको होस्टेल परिसरमा पेस्तोल फेला परेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। होस्टेलको सुरक्षागार्डले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीको टोलीले छापा मार्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। उक्त पेस्तोल सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नेत्र विक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले राखेको हुन सक्ने आशंका प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चिकित्सा शिक्षा संघर्ष समितिका संयोजकसमेत रहेका प्रकाशले शनिबार दिउँसो पत्रकारसँग सिएमसीले ५६ करोड ठगी गरेको आरोप लगाएका थिए।


अवैध रूपमा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आइरहेका विद्यार्थी आइतबारदेखि अर्को चरणको आन्दोलन गर्ने तयारी भइरहेको समयमा होस्टेलमा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। यता, पेस्तोल बरामद भएको घटनाबारे प्रतिक्रिया दिँदै विद्यार्थीले आफूहरूलाई फसाउन खोजिएको आरोप लगाएका छन्। आन्दोलन दबाउने मनसायबाट नाटकीय ढंगबाट पेस्तोल फेला पारिएको संयोजक चन्दले बताए।


यसैबीच चितवन मेडिकल कलेजको कैलाशनगर स्थित होस्टल परिसरमा पेस्तोल फेला परेपछि प्रहरीले पाँचजना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ । कलेजको कम्पाउण्ड भित्रको कर्नरमा पेस्तोल भेटिएपछि सोधपुछका लागि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । होस्टेल परिसर प्रहरीले केहीबेर घेराउ गरेको थियो । सामान्य सोधपुछका लागि सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । उनले होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको बताए ।

मेडिकल कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । चितवन मेडिकल कलेजले शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । त्यसैले भोलि आइतबार भरतपुरमा अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो ।

तर पेस्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले भने आन्दोलनरत आफूहरूलाई फसाउने प्रयास भइरहेको बताएका छन् । उनीसहितका विद्यार्थी नेतालाई फसाउन प्रहरीले आफैले पेस्तोल र गोली भेटिएको भनेर आतंक मच्चाएको एक विद्यार्थीले बताए ।


You might also like
Loading...