कावासोतीमा ६ सय २३ जना अपाङ्गता भएका व्यक्ति





नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा ६ सय २३ जना अपाङ्गता भएका व्यक्ति फेला परेका छन् ।
कावासोती नगरपालिकाको अपाङ्गता परिचय पत्र वितरण समितिले ५ महिना लगाएर तथ्यांक संकलन गरेर यो संख्या पत्ता लगाएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई वडा वडामा पुगेर शिविर नै सञ्चालन गरी परिचय पत्र समेत वितरण गरिएको कावासोती नगरपालिकाको अपाङ्गता परिचय पत्र वितरण समितिका सदस्य सागर लुइटेलले बताए ।
कावासोती नगरपालिकाको नयाँ कार्यविधि अनुसार कावासोती नगरपालिकामा ६ सय २३ जनाले अपाङ्गता भएको व्यक्तिको परिचय पत्र प्राप्त गरेका हुन् ।
कावासोती नगरपालिकामा उपप्रमुख प्रेमशंकर मर्दनियाको नेतृत्वमा नगरपालिका स्तरीय अपाङ्गता परिचय पत्र वितरणसमिति रहेको छ ।


सोही समितिले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचय पत्र वितरणका लागि १७ वटा वडामा एक÷एक दिन र नगरपालिकामा २ दिन गरी १९ दिन शिविर नै सञ्चालन गरेको थियो ।
कावासोती नगरपालिकामा भेटिएका अपाङ्गता भएका ६ सय २३ जना मध्ये २ सय ४४ जना महिला र ३ सय ७९ जना पुरुष रहेका छन् ।
नगरपालिकाले क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग गरी चार प्रकारमा विभाजन गरी परिचय पत्र प्रदान गरेको छ । ति मध्ये क वर्ग अपाङ्गता भएकाले मासिक ३ हजारका दरले र ख वर्गका अपाङ्गता भएकाले मासिक एक हजार ६ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउने गर्दछन् ।





कावासोतीमा १ सय १२ जनालाई क वर्गको परिचय पत्र र ३ सय ६३ जनालाई ख वर्गको परिचय पत्र वितरण गरिएको छ ।
त्यसैगरी १ सय ३९ जनालाई ग वर्गको र ९ जनालाई घ वर्गको परिचय पत्र वितरण गरिएको छ ।
अपाङ्गता परिचय पत्र लिन छुटेकोहरुले सम्बन्धित वडा कार्यालयमा गएर सिफारिस लिई नगरपालिकाबाट परिचय पत्र लिने प्रावधान रहेको छ ।




सम्बन्धित
Loading...