कावासोतीमा दुई वटा वडा कार्यालय भवन बन्दै
- शोभा जि.सी.

कावासोती । १७ वटा वडा रहेको कावासोती नगरपालिकामा यस आर्थिक बर्षमा दुई वटा वडा कार्यालय निर्माण भईरहेको छ ।
दुवै वडा कार्यालय ५६/५६ लाखको लागतमा निर्माण शुरु भएको हो । वडा कार्यायलहरु शौचालय र स्नान कोठा सहित ५ कोठे बन्ने छ ।
अहिले कावासोती ९ र कावासोती १५ को वडा कार्यालय निर्माण कार्य चलिरहेको नगरपालिकाले जनाएको छ।
कावासोती नगरपालिकामा रहेका वडा नं. १२, १४, १९ र १० नम्बर वडा भने साविकका गाविस भवनहरुमा रहेका छन् । ति बाहेक वडा नं. १ को वडा कार्यालय पनि आफ्नै भवनमा स्थानान्तरण भईसकेको छ ।
नगरपालिकाले अहिले वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्ति भईसकेको वडाहरुको भवन निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । जस अनुसार कावासोती ७ को पनि जग्गा उपलब्ध भएकोले भवन निर्माणको तयारी चरणमा रहेको छ ।
त्यसैगरी कावासोती ३ र २ को पनि आफ्नै भवन निर्माणका लागि छलफल अगाडि बढेको छ भने कावासोती ५ को पनि जग्गा उपलब्ध भईसकेको भएपनि त्यस जग्गाको केही प्रक्रिया मिलाउन बाँकी रहेकोले प्रक्रिया पुरा हुँना साथ वडा कार्यालय भवन निर्माण कार्य अगाडि बढाउने जनाएको छ ।
कावासोती नगरपालिकामा रहेका १७ वटा वडाहरु मध्ये अहिलेसम्म ५ वटा वडा कार्यालय मात्रै आफ्नै भवनमा रहेको छ भने बाँकी १२ वटा वडा कार्यालयहरु भाडाको भवनमा बस्दै आएको छ।