प्रधानमन्त्री र भारतीय नक्साबारे विवादित भाषणले घेरिए देउवा

चार पटक प्रम हुँदा नबोलेको मुद्दामा अहिले आक्रमक


 कास्की क्षेत्र नम्बर २ को चुनावी भेलालाई सम्बोधन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको एउटा विवादास्पद अभिव्यक्तिले आफैँ घेराबन्दीमा परेका छन्।




भारतले जम्मु–कश्मिर र लद्दाखलाई अलग गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमै नयाँ नक्सा जारी गरेको टिप्पणी गरेपछि उनी आफैँ घेराबन्दीमा परेका हुन्।  प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा नेपाली भूमिहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले नयाँ नक्सा जारी गरेको विवादास्पद अभिव्यक्तिको कांग्रेसमै चर्को आलोचना भइरहेको छ।

‘ओलीले भारतसँग भित्री सल्लाह गरेर नै त्यो नक्सा छापेर निकालिएको हो । भारतले त्यसै छापेकै होइन’, देउवाले चुनावी भाषणका क्रममा शनिबार भने, ‘ओलीसँग सल्लाह गरेरै छापेको हो भारतले । ओलीको सहमतिबिना त छाप्नै सक्दैन नि त्यो नक्सा।’  चार पटकसम्म प्रधानमन्त्री हुँदा पनि भारतले कयौँ वर्षदेखि मिचिरहेको कालापानीबारे मुख नखोलेका देउवा अहिले एकाएक आक्रमक देखिएका छन्। आफ्नै गृहजिल्ला डडेल्धुरासँग जोडिएको दार्चुलाको कालापानीसहितको भूभाग मिचिएकोबारेमा यसअघि चार पटक प्रम बन्दा देउवाले कहिल्यै मुख खोलेका थिएनन्।




देउवाले प्रतिपक्षमा गएपछि भने कालापानीबारे केही नबोलेको भन्दै प्रधानमन्त्रीविरुद्ध एकपछि अर्को कडा टिप्पणी गरिरहेका छन्। यद्यपि कालापानीसहितको भूभाग मिचिएको सन्दर्भमा प्रम ओलीले देउवासहितलाई डाकेर सर्वपक्षीय बैठक राखे। त्यससँगै परराष्ट्रमन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएको भन्दै विज्ञप्ति निकाल्यो । त्यसपछि नेपाल सरकारले आफ्नो भूमि मिचिएकोबारेमा कूटनीतिक नोट पठाइसकेको छ।  अर्कातिर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले नेपालसँगको सीमा विवादबारेमा आफूहरुले वार्ताको पहल गरिरहेको बताइसकेका छन्।

तर देउवाले एकपछि अर्को विवादित टिप्पणी गर्न छाडेका छैनन्। उनले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको पनि उल्लेख गरे।  ‘ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन्? कहाँ छ त्यो राष्ट्रवाद अहिले? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ’, देउवाले आक्रोशित हुँदै भने, ‘ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन्।’ उनको यस टिप्पणीलाई लिएर कांग्रेसकै अर्का नेता डा. शेखर कोइरालाले कडा टिप्पणी गरेका छन्। चुनावी माहोल तताउने क्रममा सत्तारुढ दलमाथि प्रहार गर्दा ‘चिप्लिएको’ देउवाको बोलीप्रति नेता शेखरले आश्चर्य प्रकट गरेका छन्।

नेता कोइरालाले नेपालको ठूलो भूमि भारतले मिचेको सन्दर्भमा सर्वपक्षीय बैठकसहितका पहल गरेको बताउँदै नेता कोइरालाले देउवाको टिप्पणी कसरी आयो? आफुलाई थाहा नभएको उल्लेख गरेका छन्। ‘सभापतिले के बोल्नुभयो, मैले सुनेको छैन । कुन सन्दर्भमा भाषणका क्रममा यो विषय उठाउनुभएको हो भन्न सक्दिनँ । तर, प्रधानमन्त्रीजीले नै पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामलाका जानकारहरू राखेर सर्वदलीय बैठक गरी कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सहमति बनाउनुभएको हो’, उनले एक दैनिक पत्रिकासँग भनेका छन्, ‘सभापतिजीको भनाइ कसरी र किन आयो म अचम्मित छु । म यति भन्न सक्छु– कुनै पनि विषय केन्द्रीय समितिमा छलफल भएर पारित भएपछि मात्रै पार्टीको आधिकारिक र संस्थागत धारणा हुन्छ ।’ सीमाको जस्तो गम्भीर विषयमा पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार नेताले प्रधानमन्त्रीसँग बसेर वार्ता गर्नुपर्ने भन्दै उनले जथाभावी बाहिर बोल्नु बेठीक हुने जिकिर गरे।

सबैभन्दा रोचक कुरा त के छ भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा महाकाली सन्धि भएको थियो। देउवा प्रम भएका बेला भएको महाकाली सन्धिमा पानीमा आधा आधा हक लाग्ने भनिए पनि भारतले एकलौटी गरेको छ। सिंगो महाकाली नै आफ्नोतर्फ फर्काएर लगेको छ भारतले। देउवाको छुद्र टिप्पणी : शान्ता  सभापति देउवाको टिप्पणीलाई सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीले छुद्र र असभ्य भनेकी छन्। ‘पटक– पटक देशको प्रधानमन्त्री समेत भइसकेका शेरबहादुर देउवाको अभिव्यक्ति अत्यन्तै निन्दनीय र भत्र्सनायोग्य छ’, उनले भनेकी छन्, ‘आफ्नो हैसियत गुमाएर छुद्र, असभ्य र झुटको नांगो रुप प्रदर्शन गर्दै अभिव्यक्ति दिने देउवालाई हामीले दर्जनौं प्रश्न गर्न सक्छौँ।

तपाईं सत्तामा हुँदा राष्ट्रघाती सन्धिमा हस्ताक्षर किन गर्नु भयो? भारतले नाकाबन्दी लगाउँदा त्यतिबेला तपाईंको राष्ट्रवाद कहाँ लुक्यो?’ देउवामाथि दर्जन प्रश्नको बर्षा गर्दै चौधरीले दरबारलाई सत्ता बुझाउनेदेखि देशका उद्योग र कलकारखाना कौडीको मूल्यमा बेचेको आरोप देउवामाथि लगाएकी छन्।

‘देशका उद्योग धन्दा र कलकारखाना कौडीको मुल्यमा बेच्ने काम कसले गर्‍यो? बहुदल आएपछि सरकारको नेतृत्व सबैभन्दा बढी कसले गर्‍यो र भ्रस्टाचारलाई संस्थागत गर्दै देश डुबाउने काम कसले गर्‍यो?, उनले सोधेकी छन्, ‘दरबारलाई सत्ता बुझाउने काम कसले गर्‍यो?

नेपालको सिमानबाट भारतिया सेना हटाएर नेपाली भूमि फिर्ता गराउन तपाईंले किन सक्नु भएन?’ देउवाको भनाइ अशोभनीय : पोखरेल राजनीतिक विश्लेषक कृष्ण पोखरेलले चार पटक प्रधानमन्त्री बनिसकेका देउवाले शनिवार दिएको अभिव्यक्ति ‘अशोभनीय’ भएको बताएका छन्।

‘राजनीति गर्नुपर्छ, तर विदेश नीतिमा राजनीति गर्दा त्यस्तो विभाजनकारी विचार तात्कालिक राजनीतिक फाइदाका लागि व्यक्त गर्नु हुँदैन’, उनले बिबिसीसँग भनेका छन्।  सञ्चारमन्त्री यसो भन्छन् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपको खण्डन गरेका छन्।

हिजो शनिबार देउवाले पोखरामा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा ‘कालापानी र लिपुलेक ओलीकै सहमतिमा राखिएको भन्ने आरोप लगाएका लगाएका थिए। ‘श्रीमान् शेरबहादुर देउवाजीलाई स्पष्ट भन्न चाहान्छु, हाम्रो बोली लर्बरिन्न, देशभक्तिको विषयमा ।

नाकाबन्दीमा एक शब्द बोल्न नसकेर म्याउँ गर्न नसक्ने, अहिले ठुल्ठुलो ढाडे बनेर चुनाव आयो भनेर कुर्लेर हुन्छ ?” नाकाबन्दीमा कुन दुलोमा बस्नु भएको थियो’, उनले भने।




सम्बन्धित
Loading...