आज पनि तीनवटा मेडिकल कलेजमा शुद्धिकरण विभागको छापा
काठमाडौं । मेडिकल कलेजहरुमा छापा हान्ने र सञ्चालकहरुको अवैध सम्पत्ति पत्ता लगाउने कामलाई सम्पत्ति शुद्धिकरण विभागले तिब्रता दिएको छ । विभाग सम्बद्ध स्रोत अनुसार आज पनि विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेर कागजपत्रहरु लगेको छ ।स्रोत अनुसार विभागले जनकपुरको जानकी मेडिकल कलेजमा छापा मारेको छ ।
त्यसैगरी भैरहवाको युनिभर्सल मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजमा पनि विभागले छापा मारेको छ । स्रोत अनुसार विभागले मेडिकल कलेजहरुको आयव्यय विवरण, वित्तीय विवरण, बैंक खाताहरुको विवरण, सञ्चालक समितिको विवरण लगायतका कागजात बरामद गरेको छ ।
विभागले केही दिन अघि चितवन मेडिकल कलेज, नोबेल मेडिकल कलेज र नेशनल मेडिकल कलेजमा छापा मारेर कागजातहरु लगेको थियो ।
विभाग सम्बद्ध स्रोत अनुसार विभागले अन्य मेडिकल कलेजहरुको पनि छानविन गरिरहेको छ । त्यसैगरी शक्तिशाली पदमा बसिसकेकाहरु तथा राजनीतिक दलका नेताहरुको पनि सम्पत्ति छानविन गरिरहेको छ ।
सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री मातहत रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभागलाई मोलाहिजा नराखी काम अगाडि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन पछि नेकपाका प्रदेश मन्त्री समेत विभागको छानविनको दायरामा परेर राजीनामा दिन वाध्य भइसकेका छन् ।
विभागले छापा मारेका अधिकांश मेडिकल कलेजहरु नेकपाकै नेताहरुको संलग्नतामा खुलेका हुन् ।