तिलगंगामा सन्दीपको आँखाको लेजर सर्जरी
तिलगंगा आँखा प्रतिष्ठानको रिफ्र्याक्टिभ सर्जरी युनिटमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको आँखाको लेजर सर्जरी भएको छ।
प्रतिष्ठानका रिफ्र्याक्टिभ सर्जन डा. शाश्वत ढुंगेलले उनको सर्जरी गरेका हुन्। सन्दीपको उपचारका सन्दर्भमा डा. शाश्वतले शल्यक्रियापश्चात दृष्टिक्षमता (भिजन) एकदमै राम्रो आएको बताए। शल्यक्रियाप्रश्चात् प्रतिक्रिया दिँदै सन्दीपले टाढाको वस्तु देख्न समस्या भएपछि चस्माको विकल्प सर्जरी रोजेको बताए। सन्दीपले भने, ‘टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ। विदेशमा पनि बुझेको थिए, यससम्बन्धी तर आफ्नै देशमा गर्ने सोच भएको यहाँ गराए। म एकदमै खुशी तथा सन्तुष्ट छु।
शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ।’ डा. शाश्वतका अनुसार लेजर सर्जरीमा यो एकदमै नयाँ पद्धति हो, जुन नेपालमा तिलगंगा आँखा प्रतिष्ठानमा मात्र उपलब्ध छ। आँखामा पावर भएको र चश्मा लगाउन नचाहनेका लागि लेजर सर्जरी सेवा एकदमै प्रभावकारी रहेको छ। उनले यो सर्जरी –०.५ देखि –१४ सम्मको पावर भएकालाई गर्न सकिने बताउँदै लेजरको अरू पद्धतिभन्दा यो पद्धतिमा सुख्खापन कम हुने, घाउ छिटो पुरिने आदि फाइदा रहेको उल्लेख गरे। उनका अनुसार विश्वका अन्य मुलुकहरुमा यो एकदमै महंगो प्रविधि भएकोले शल्यक्रिया शुल्क पनि महँगो छ। तर, नेपालमा प्रतिष्ठानले अन्य मुलुकभन्दा सस्तोमा उपलब्ध गराएको छ।
त्यसैले विश्वका धेरै मुलुकबाट विदेशी तथा गैरआवासिय नेपाली यस शल्यक्रिया गराउन प्रतिष्ठान आउने गरेका छन्। चश्माको कारणले गर्दा आफ्नो दैनिक जीवन, पेशा, रुचिका क्षेत्र आदिमा कठिनाई सामना गरिराख्नुपर्ने व्यक्तित्वहरुले यो सेवा लिएर चश्मामूक्त जीवन बिताउन सकिने प्रतिष्ठानले जनाएको छ।