ट्रम्पद्वारा हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा हस्ताक्षर

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङमा प्रजातन्त्रको माग भइरहेको प्रदर्शनलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी कंग्रेसले पारित गरेको सो विधेयकमा ट्रम्पले हस्ताक्षर गरेपछि अब कानुन बनेको छ ।
हङकङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङकङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे÷नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘राष्ट्रपति सी (सी जिनपिङ), चीन र हङकङका जनता’ प्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको दाबी गरेका छन् ।
तर अमेरिकाको सो कानुनबाट चीन भने रुष्ट बनेको छ । चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइसकेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले चीन–अमेरिका व्यापार युद्धलाई अन्त्य गर्न चीनसँग व्यापार सम्झौता गर्न खोजिरहेका बेला आएको यो कानुनले पुनः वार्ताको वातावरणलाई बिथोल्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
ट्रम्पले हङकङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन् । त्यसले हङकङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाएको छ । ट्रम्पले चीन र हङकङका नेता तथा प्रतिनिधिहरूले आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर ती विधेयकहरू लागु गर्न लागिएको जानकारी दिएका छन् ।