सम्बन्ध विच्छेद माग्ने महिला भन्दा पुरुष धेरै

सम्बन्ध विच्छेदका कारण सरकारी जागिरदेखि वैदेशिक रोजगारीसम्म


  • रामकुमार श्रेष्ठ- 


नवलपरासी। जिल्ला अदालत नवलपुरमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेको छ ।
यस आर्थिक बर्षको पछिल्लो चार महिनामा जिल्ला अदालत नवलपुरमा परेका ४ सय ९ वटा मुद्दा मध्ये एक सय वटा मुद्दा सम्बन्ध विच्छेदको परेको छ । यो तथ्यांक २०७६ साल साउन १ गतेदेखि मंसिर १२ गतेसम्मको हो।
एक सय सम्बन्ध विच्छेदका मुद्दामा ६५ वटा मुद्दा पुरुषको तर्फबाट दर्ता भएका मुद्दा रहेको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी दुर्गाबहादुर कार्कीले बताए।
कार्कीका अनुसार ३५ जना महिलाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । एक सय वटा मुद्दामा एउटा मुद्दा मिलापत्र भएको छ । जिल्ला अदालत नवलपुरमा मेलमिलापकर्ता समेत रहेका कार्कीका अनुसार अदालतमा सम्बन्ध विच्छेदका मुद्दा आएसँगै मेलमिलापकर्ताबाट छलफल गराएर मेलमिलाप गराउन खोजे पनि अधिकांशले सम्बन्ध विच्छेद नै गर्ने गर्दछन् ।
त्यस्तै अघिल्लो आर्थिक बर्षको माघ १७ गतेदेखि असार ३१ गतेसम्मको जिल्ला अदालत नवलपुरको तथ्यांक हेर्ने हो भने पनि ५ सय १४ वटा मुद्दा दर्ता भएको मध्ये ८३ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । ति मध्ये ४६ वटा सम्बन्ध विच्छेदका मुद्दा पुरुषको तर्फबाट दर्ता भएको छ भने ३६ वटा मुद्दा महिलाको तर्फबाट दर्ता भएका छन्।




सम्बन्ध विच्छेदका कारण सरकारी जागिरदेखि वैदेशिक रोजगारीसम्म

कावासोतीका एक पुरुष विदेशिक रोजगारीका लागि विदेश गएको झण्डै १५ बर्ष बढी भईसक्यो । नेपालमा चालकको रुपमा काम गर्दै आएका ति पुरुष विवाह पश्चात बच्चाबच्ची जन्मिएर ठूला हुन थालेपछि बढ्दै गएको खर्च धान्न विदेश हानिए। विदेशमा उनले भने जस्तै नोकरी पनि पाए। नेपालमा पनि चालकको रुपमा काम गरेका उनले विदेशमा पनि चालककै रुपमा काम गर्न पाए। महिनामा डेढ÷दुई लाख नेपाली रुपैयाँ उनको कमाइ हुने गर्दथ्यो।
कमाई राम्रै भएका कारण धनसम्पत्ति जोड्ने अभिलाशाले ति पुरुष केही दिनका लागि छुट्टी मिलाएर नेपाल आए पनि पुन विदेश जाने गरे। झण्डै आफ्नो उमेरको डेढ दशक विदेशी भूमिमा श्रम गरेर कमाएको दुई अढाई करोड नेपाली रुपैयाँ ति पुरुषले सरासर श्रीमतीको नाममा पठाए। श्रीमतीले पनि घर खर्च अन्य खर्च गरेर केही सम्पत्ति जोडे जुन सम्पत्ति श्रीमतीले सबै आफ्नै नाममा खरिद गरेका थिए।
जब पुरुष अब नेपालमै केही गर्ने भनेर नेपाल आएर श्रीमतीसँग हिसाब किताब माग्न थालेपछि आधाआधी रकम अर्थात श्रीमानले पठाएको दुई करोड रुपैयाँमा एक करोड बढी हिसाब देखाउन नसकेपछि श्रीमान श्रीमतिको बीच फाटो आयो। सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगे। अहिले कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेदको माग गर्दै निवेदन दर्ता गर्न पाउने प्रावधान आएपछि उनले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेका छन्।
उनी मात्र नेपाल भित्रै सरकारी जागिर गरेका तर घर खासै समय नदिने बाहिर बाहिर बस्ने गरेका जोडीले पनि सम्बन्ध विच्छेद माग्ने गरेका छन् । स्रोतका अनुसार जिल्ला अदालत नवलपुरमा प्रहरी नायव उपरीक्षक तहसम्मका अधिकारीहरु पनि सम्बन्ध विच्छेदका घटना दर्ता गराउन आउने गरेका छन् ।
श्रीमान घर बाहिर हुने, श्रीमती गाउँघरमा हुने। श्रीमान श्रीमतीबीच नियमित सम्पर्क कमी हुँदा एकले अर्कालाई शंका गर्ने र सोही शंकाले ठूलो रुप लिएर सम्बन्ध विच्छेदका घटनासम्म पुग्ने गरेको छ। अदालत स्रोतका अनुसार अधिकांश घटना विदेश श्रीमान भएकाहरुको जोडीले नेपाल फर्किएपछि सम्बन्ध विच्छेदका लागि निवेदन दिने गरेका छन् ।
त्यसैगरी नेपाल भित्रै श्रीमान् जागिरे छ र घरपाइ जागिर नभएकाहरुको बीच पनि सम्बन्धमा फाटो आइ सम्बन्ध विच्छेदका मुद्दा हाल्ने गरेका छन् । अधिकारकर्मीहरुका अनुसार विदेशिक रोजगारीले भित्र्याएको रेमिट्यान्ससँगै आएको विकृति रोक्नतर्फ बेलैमा ध्यान नदिए यो अवस्था विकराल बन्दै जाने सम्भावना रहेको छ।



सम्बन्धित
Loading...