काँकडभिट्टा नाकाबाट तस्करी बढ्यो, साढे ११ लाखको सुपारी बरामद


 झापाको पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी भारत तस्करी हुन थालेको पाइएको छ।



केही समय बन्द भएको सुपारी तस्करी फेरि ठूलो परिणाममा भारत तस्करी हुन थालेपछि तस्करी रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अभियान सुरु थालेको छ। यसै क्रममा प्रहरीले काँकडभिट्टाबाट ठूलो परिणाममा सुख्खा सुपारी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाको संयुक्त प्रहरी टोलीले आइतबार मध्यरात सो मूल्य बराबरको सुपारी बरामद गरेको हो।

प्रहरीले गएराति साढे १२ बजे झापा मेचीनगर नगरपालिका ३ बर्मेली टोलबाट साढे ४ हजार किलो सुपारी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए। बरामद गरिएको ७७ बोरा सुपारीको मूल्य ११ लाख ५५ हजार रहेको जनाइएको छ। प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले सुपारी तस्करले १६ वटा साइकलमा सुपारीका बोरा राखेर लस्करै भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ।




बरामद गरिएको सुपारीलाई सोमबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ।  काँकडभिट्टाबाट सुपारी तस्करी भइरहँदा पनि त्यस क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी गुल्म काँकडभिट्टाले चासो नदेखाउँदा जिल्लाबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो।



सम्बन्धित
Loading...