बर्दघाटको निशुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय ९० जनाको स्वास्थ्य परीक्षण

बर्दघाट । टाईम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट र रोटरी क्लव अफ सेन्ट्रल बुटवलको संयुक्त आयोजनामा विहीबार नवलपरासीको बर्दघाटमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
मुटु, मृगौला, दम तथा छाती र अन्य रोगका विरामीलाई लक्षित गरी शिविरको आयोजना गरिएको सहकारीका अध्यक्ष रुद्रप्रकाश उपाध्यायले बताए ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, मृगौलारोग विशेषज्ञ, जनरल फिजिसियन लगायतका स्वास्थ्यकर्मीले स्वास्थ्य चेकजाँच गरेका थिए । इ.सि.जी र इ.को बाट मुटुको परिक्षण पि. एफ. टी बाट दम तथा छाती रोगको परिक्षण, रक्त परिक्षण संगै आवश्यक औषधीहरु समेत निशुल्क वितरण गरिएको थियो ।
शिविरको बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै रोटरी क्लवका अध्यक्ष राजेन्द्र कार्कीले रोटरीले मानवीय सेवाको क्षेत्रमा धेरै काम गर्दै आएको बताए ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. समिर गौतमले स्वास्थ्यनै सवैथोक भएकोले स्वास्थ्य प्रति सवै गम्भिर हुनुपर्ने बताएका थिए ।