भू–माफियासँग जनप्रतिनिधिको कनेक्सन

अरुणखोला (नवलपुर)। पूर्वी नवलपरासीको अरुणखोलामा सार्वजनिक क्षेत्र अतिक्रमणसँगै भू–माफियाको बिगबिगी बढ्दै गएको छ। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका भित्र सरकारी संरचना निर्माणका लागि भन्दै वन तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम तीब्र बनेको छ। बाटो, मन्दिरदेखि वडा कार्यालय निर्माण कार्य सार्वजनिक जग्गा अतिक्रमण गरी गर्न थालिएको हो।
मध्यविन्दु नगरपालिकाको वडा नं. ११ को वडा कार्यालय निर्माण कार्य शुरु भएसँगै अर्को चलखेल शुरु भएको छ । वडा कार्यालय निर्माण शुरु गरिए लगतै सो निर्माण स्थल व्यक्तिको जग्गा परेको भन्दै निर्माण कार्य रोकियो । भवन निर्माण शुरु गरे लगतै काम रोकेर नयाँ षडयन्त्र शुरु भएको स्रोतको भनाई छ ।
वडा कार्यालय भवन निर्माण स्थल पश्चिम सिचाई कुलो रहेको छ। सिचाई कुलोको पश्चिम साविक किशोर मास्केको जग्गा छ। मास्केको सो जग्गा केही समय अघि लिलाम विक्री गरिएको थियो। उक्त जग्गा कृष्ण भट्टराई लगायत पाँच जनाको नाममा खरिद भएको थियो। तर, सोही जग्गा प्लटिङ गर्न जनप्रतिनिधिहरु नै लागि परेको स्रोतको भनाई छ।
मध्यविन्दु नगरपालिका वडा नं. ११ को वडा कार्यालय निर्माण गर्न लागिएको जग्गा व्यक्तिको नाममा रहेकोले त्यसको सट्टामा कल्भर्टदेखि बाटो निर्माण गर्ने प्रस्ताव जनप्रतिनिधिहरुले नै अघि सारे ।
व्यक्तिको नाममा रहेको दावी गरिएकै ठाउँमा कार्यालय बनाउने र सट्टामा सरकारी मोटो रकम दुरुपयोग गरी कल्भर्टदेखि बाटो खुलाउने विषयमा ठूला दुई दलबीच सहमति जुटेको थियो । सार्वजनिक जग्गामा बाटोदेखि कल्भर्ट बनाउनका लागि माफियासँग ठूलो रकम लिने सहमति बनेको स्रोतको दावी छ ।

माफियालाई बाटो खोलिदिन स्थानीय षडानन्द बेलबासेलाई स्थानीय जनप्रतिनिधिले दबाब समेत दिदै आएका छन्। बाटो बनाइदिन लागिएको ठाउँमा बेल्बासेको खानेपानी धारा तथा सेफ्टी टंकी रहेको छ। विपन्न परिवारको बेल्बासेको खानेपानी धारा र सेफ्टी टंकी भत्काएर भए पनि बाटो बनाइदिन स्थानीय जनप्रतिनिधिहरु लागेका छन्।
गत मंसिर १२ गते कार्यवाहक वडाअध्यक्ष महेश्वर भुसालले पत्र पठाई पाँच दिन भित्र सो ठाउँ खाली गर्न बेल्बासेलाई निर्देशन दिएका छन् । तर, बेल्बासेले भने आफूले प्रयोग गरेको धारा, टंकी कुनै व्यक्तिको जग्गामा नरहेको दावी गरेका छन् । सर्वदलीय वैठकबाटै सहमति गरी व्यक्तिका लागि कल्भर्ट निर्माण गरिदिने निर्णय भएको मध्यविन्दु नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष चन्द्रबहादुर दरैले दाउन्नेलाई बताए।
‘त्यसबारे कुनै विवाद छैन्’ – दरैले भने – ‘६०/४० प्रतिशतको हिसाबले कल्भर्ट बनाइदिने सहमति भएको हो।’ स्थानीय जनप्रतिनिधि सहिति प्रमुख दुई दलका नेताले माफियासँग करोडौंको चलखेल गरेको स्रोतको दावी छ। झण्डै ४७ लाखको लागतमा वडा कार्यालय निर्माण गर्न लागिएको छ तर, त्यो भन्दा बढी रकम कल्भर्ट र बाटो निर्माणमा नगरपालिकाले लगानी गर्ने भएको छ। वडा अध्यक्ष दरैका अनुसार कल्भर्ट र २२ फुट बाटो निर्माण गरिने भएको छ । बाटो जोडिएपछि मास्केसँग खरिद गरिएको जग्गा अरबौं पर्ने भएकोले नापीदेखि मालपोत कर्मचारी समेतको संलग्नता रहेको आशंका गरिएको छ ।