सुल्झिएन उखु किसानको समस्या

परासी । लामो समय भयो नवलपरासीको उखु किसानहरुले उचित मूल्यको माग र समयमै उखुको भुक्तानी माग गरेर आन्दोलन शुरु गरेको तर आन्दोलनले समस्या हल गर्नुको साटो किसानहरुको समस्या झन बल्झदै गएको छ ।
उखुको सिजन हुन्जेल उखुको उचित मूल्य माग गर्दै आन्दोलन गर्नु पर्ने बाध्यता र क्रसि· सकिएपछि भुक्तान माग गर्दै आन्दोलन गर्नु पर्ने बाध्यता बीच नवलपरासीको उखु किसानको दैनिकी नै चलेको छ। उखु किसानहरु भन्छन् – उखु लगाउने बेला पनि उखु लगाउने कि नलगाउने भन्ने दोधार हुने गर्दछ। लगाइ हाले उखुको उचित मूल्य नपाउने त्यसमाथि त्यही उखु विक्रीको पैसा पाउन कम्तीमा एक बर्ष कुर्नु पर्ने बाध्यता त्यसमा पनि आन्दोलन चर्काएर मात्र उखुको मूल्य भुक्तान पाउने अवस्था।
सरकारले उखु किसानका लागि राहत दिन उखुमा अनुदान दिने निर्णय गर्यो तथापि त्यही अनुदान रकम किसानको हातसम्म आउन बर्ष दिन लाग्ने अर्को समस्या। समस्या समस्याकै बीच जेलिएको उखु किसानलाई अहिले अर्को समस्या थपिएको छ – नेपालकै पुरानो र ठूलो सुनवल चिनी कारखाना बन्द हुँदा।
परासीमा ३ वटा चिनी मिल छन् ति मध्ये सबैभन्दा बढी उखु खपत गर्ने मिल लुम्बिनी चिनी कारखाना हो। यो साता लुम्बिनी चिनी कारखानाका सञ्चालकले उखुको अभाव र व्यवस्थापनको समस्या देखाउँदै कारखाना बन्द गरेको घोषणा गर्यो। उखु उत्पादक संघ नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार लुम्बिनी चिन मिल बन्द भएपछि परासीमा उत्पादन हुने उँखु बाँकी रहेको बागमति खाडसारी मिल र इन्दिरा सुगर मिलले मात्र खपत गर्ने अवस्था छैन । चिनी मिल सञ्चालकले मिलमा आर्थिक र व्यवस्थापनको समस्या देखाउँदै चिनी मिल बन्द गरेको हो ।

चिन सरकारको सहयोगमा २०४६ माघ महिनाबाट लुम्बिनी चिनी मिल सञ्चालनमा आएपछि नवलपरासीको दक्षिणी क्षेत्रमा व्यवसायिक उखु खेती फस्टाएको थियो । चिनीको मूल्य समायोजन नभएको, प्रयाप्त उखु उत्पादन नभएको भन्दै लुम्बिनी चिनी मिल गत बर्ष नै बन्द गर्न खोजिएको थियो ।
चिन सरकारको सहयोगमा नेपाल सरकारले उक्त मिल शुरुमा सञ्चालन गरेको भए पनि ०६२ साल माघ महिनादेखि यस चिनी मिललाई निजीकरण गर्दै मनिष अग्रवाललाई हस्तान्तरण गरेको थियो ।
अग्रवालको गत बर्ष निधन भएपछि यो मिल धरासायी भएको बताइएको छ । कारखानाका प्रबन्धक कुस सुवेदीले मिल मर्मत गर्नु पर्ने पनि भएकोले व्यवस्थापकीय पक्षले अबदेखि उद्योग नचलाउने निर्णय गरेको बताए । लुम्बिनी चिनीमिलले उखु किसानलाई गत बर्षको मात्रै सात करोड रुपैयाँ भुक्तान दिन बाँकी छ ।
इन्दिरा सुगर मिलमा तालाबन्दी

परासी । नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलमा स्थानिया द्वारा अनिश्चितकालिन ताला बन्दी गरिएको छ। उखु क्रसि·को सिजन ७४/७५ र ७५/७६ सालको भुक्तानी रकम करिब १४ करोड बाकी रहेको बिरोधमा ताला बन्दी गरिएको उखु उत्पादक कृषक समितीका अध्यक्ष उमेश चन्द्र यादवले बताए।
समयमा भुक्तानी नपाउँदा उखु किसानहरु निकै समस्या भोग्न परेको हुँदा मिल संचालकलाई पटक–पटक आग्रह गरिए तापनि मिलले बाँकी रकम भुक्तानी गर्न आलटाल गर्दै आएको छ ।
किसानहरुको बाकी भुक्तानी असार मसान्त भित्र गर्न प्रमुख जिल्ला अधिकारीको रोहबरमा लिखित निर्णय भए पनि अहिलेसम्म किसानहरुको भुक्तानी नपाउँदा मिलको लेखा शाखा, प्रशासन कक्ष, मुख्य गेट ताला बन्दी गरिएको यादवले बताए।
साथै सोही मिलको मातहतमा संचालन रहेको बेलाटारी स्थित पावर फेक्ट्री समेत ताला बन्दी गरिएको छ।
नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रमा नगदे बालीको उखुमा आधारित हजारौ किसानहरु समयमै भुक्तानी नपाउँदा समस्या भोग्दै आएका छन । साथै बाकी भुक्तानी सिघ्र गर्न गराऊनको लागि रघुबर कोईरीको अध्यक्षतामा १५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।