आज ३ घण्टा लामो खण्डग्रास सूर्यग्रहण, ग्रहणको बेला के गर्नु के नगर्ने ?




आज विहान तीन घण्टा लामो खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ।

आज बिहान ग्रहणले बिहान ८ः४२ मा स्पर्श गरी ११ः३१ समम रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ।




बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा)अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध गर्न सुझाइएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा (मन्त्र) लिन पनि उत्तम मानिन्छ।

ग्रहणका समयमा सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा स्थान गर्ने र सम्भव नभए घरमै स्नान गर्नु लाभदायी हुने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख छ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रीहरुको मान्यता छ। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ।

यसपछक कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि ग्रहण हेर्नु शुभ हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई शुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ।

शुभ फल मिल्ने राशि भएकालाई पनि प्रत्यक्ष आँखाले भने नहेर्न समितिले सुझाव दिएको छ। कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ।



सम्बन्धित
Loading...